भारतमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुले आंशिक प्रभाव पारेकाले आज काठमाडौं उपत्यकासहितका केही जिल्लाहरूमा बादल लागेको छ।
यो प्रणाली कोशी प्रदेशबाट नेपाल भित्रिएको हो र यसको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरूमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान विभागले जनाएको छ। यसले अहिले बढेको वायु प्रदूषण केही कम गर्न मद्दत पुर्याउनेछ।
मौसमविद हरिप्रसाद दाहालका अनुसार आज अपराह्नदेखि काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरूमा पानी पर्ने सम्भावना छ। उनले भोलि बुधबारको तुलनामा आजभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताए। “पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ,” उनले भने, “मंगलबार छिटपुट वर्षा र बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।”
वर्षाको यो सम्भावना बिहीबारसम्म रहने मौसमविद दाहालले जानकारी दिए। यो प्रणालीको प्रभाव पूर्वी नेपालमा बढी र पश्चिमी भागमा कम देखिनेछ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र देशका अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने उल्लेख छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।
आज अपराह्न काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना छ। तर लुम्बिनी प्रदेशदेखि पश्चिमका क्षेत्रहरूमा भने एक-दुई स्थानमा मात्र वर्षा हुने सम्भावना रहेको मौसमविद दाहालले बताए।
लामो समयदेखि पानी नपरेकाले देशका धेरै ठाउँहरूमा सुक्खा, डढेलो र वायु प्रदूषण बढेको छ। पानी परेपछि हावामा रहेका धुलो र धुवाँका कण पखालिने भएकाले प्रदूषण केही कम हुने मौसमविद दाहालले बताए।