औद्योगिक क्रान्तिद्वारा उदाएको श्रमिक दिवसको इतिहास : मिलन घिमिरे

बैशाख १८, २०८२
Milan Ghimire Post

औद्योगिक क्रान्ति ग्रेट ब्रिटेन (बेलायत)मा सुरु भयो र धेरै प्राविधिक र वास्तुकला आविष्कारहरू ब्रिटिश मूलका थिए । १८ औं शताब्दीको मध्यमा बेलायत विश्वको अग्रणी व्यावसायिक राष्ट्र थियो । जसले उत्तर अमेरिका र क्यारिबियनमा उपनिवेशहरू सहितको विश्वव्यापी व्यापार साम्राज्यलाई नियन्त्रण गर्यो ।

भारतीय उपमहाद्वीपमा बेलायतको प्रमुख सैन्य र राजनीतिक प्रभुत्व कायम थियो । विशेषगरी प्रोटो-औद्योगिकीकृत मुगल बंगालसँग ईस्ट-इण्डिया कम्पनीको गतिविधिहरू मार्फत व्यापारको विकास र वृद्धि हुनु औद्योगिक क्रान्तिको प्रमुख कारणहरू थिए ।

Today is May Day by Ditible

औद्योगिक क्रान्तिले इतिहासमा एउटा महत्वपूर्ण मोड लियो । औद्योगिक क्रान्तिले दैनिक जीवनका लगभग हरेक पक्षलाई कुनै न कुनै रूपमा प्रभाव पारेको थियो । त्यस समयमा विशेषगरी औसत आय र जनसंख्याको अपत्यारिलो वृद्धि (दिगो) भएको थियो । केही अर्थशास्त्रीहरूका अनुसार औद्योगिक क्रान्तिको प्रभावले इतिहासमा पहिलो चोटी पश्चिमा देशका जनताहरुको आम जीवनस्तर लगातार रुपमा वृद्धि भएको थियो । जसलाई त्यस बखत सजिलै महसुस तथा अनुभुती गर्न सकिन्थ्यो ।

औधोगिकरणको कारण व्यापक रुपमा उधोगधन्दा र कलकारखानाहरु बिकास भयो । त्यस समयमा यान्त्रिक प्रविधिको प्रयोग प्रारम्भ भयो । मानव श्रमलाई दैनिक १८-२० घण्टा सम्म काम लगाउन थालियो । यस स्थितिले मालिक तथा उधोगपतिहरु धनी हुँदै गए भने मजदुरवर्ग गरिबी तथा शोषणको चपेटामा परे । आर्थिक रुपमा ठुलो खाडल निर्माण हुन पुग्यो । यस अवस्थामा मजदुर तथा श्रमिक वर्ग जुट्दै गए । मजदुर आन्दोलनको निर्माण भयो । श्रमिक वर्गले वर्गिय हितका निम्ति कठाेर आन्दोलन गरे । कयौं मरे भने आन्दोलनको ज्वाला झन् झन् सल्किदै गयो । अन्तत : श्रम संगठनको उदय भयो ।

अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो । त्यतिबेला कमभन्दा कम तलब दिइन्थ्यो । ज्याला तथा तलब दिने प्रचलन १९ औं शताब्दी पछि मात्र सुरु भएको हो । त्यस बखत मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो । एउटा वर्गले अर्को वर्गमाथि चरम शोषण गरेको अवस्था थियो ।

सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना भयो । आई.एल.ओ.ले आफ्नो स्थापनाकाल देखि नै श्रमिकहरूको हक अधिकारका लागि काम गर्दै आएको छ । विश्वका धेरै मुलुकहरु आर्थिक समृद्धिको दिशातर्फ उकालो लागेपछि श्रम क्षेत्र/बजार विस्तार हुँदै गयो । बिस्तारै श्रमबजारमा श्रमिकको माग समेत बढ्दै गयो ।

औधोगिक क्रान्ति पुर्व समेत श्रमको प्रयोग भएको पाइन्छ । तर त्यस समयमा श्रम शोषण, दासप्रथा मार्फत राज्यपक्ष तथा शक्ति हुनेहरुले श्रमको मूल्य बिना नै श्रमिकहरुको प्रयोग गर्दथे । यान्त्रिक बिकास नभएको चरणमा सबै काम मानविय श्रम मार्फत जबर्जस्त भएका थिए । श्रम र श्रमिकको सम्मान थिएन । शासक वर्गले मानिसहरुको श्रमलाई शोषण गर्दथे, यन्त्र झैं आफ्नो क्षेत्रमा लाद्ने गर्दथे ।


यस चरणमा धेरै काम, बिकास र सृजना त भएका छन् तर त्यस समयलाई फर्केर हेर्दा कहालीलाग्दो श्रम शोषण र धेरैको रगत, पसिना र बिना मुल्यको मृत्युका कथाहरु लुकेका छन् । यसलाई व्यावसायिक जगतको सिद्धान्त अनुरुप श्रम भन्न सकिन्न । किनकी यस अवस्थाले श्रम बापत कुनै मूल्य चुकाएको छैन । श्रमिकको सुबिधा/भावनाको प्रतिनिधित्व र सम्मान गरेकै छैन ।

मे-१ को सम्झना :
१९ औं शताब्दिको औद्योगिकीकरणको समयमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितीका बिच त्यहाँका मजदुरहरूले १- मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम तथा ज्याला, उचित विदा सुविधा, गुणस्तरीय श्रम/कार्य वातावरणको लागि एकीकृत हुने उद्घोष गरे । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे । सिकागो सहरमा यहि माग सहित गरिएको श्रमिकहरूको शान्तिपूर्ण आन्दोलनमा प्रर्दशनकारीहरू माथि गोली चलाउँदा थुप्रैको हत्या भयो । ४ मे- का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गराउँदा ४ प्रहरी सहित ७ जनाको मृत्यु भयो । त्यसपश्चात् घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी समेत दिइयो ।

यसकै ३ वर्षपछी French Socialist Party ले मे- १ लाई (श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गर्‍यो । परिणामस्वरूप हामि पनि यो दिनलाई मनाउँदै आएका छौं । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो। अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा गर्यो । फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवी वर्गको समाजवादी राज्य सत्ता स्थापना भयो ।

हुनतः सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा गर्यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ। यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो।

labour day by Ditible

शनिबारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यालय समयको निर्धारण गरी आठ घण्टा गराउन यसै दिन धेरै श्रमिकले ज्यान गुमाएका थिए। अमुक श्रम शहिदहरूको सम्झना पनि गर्न जरुरी छ। विगत वर्षहरूमा जसरी यो वर्ष पनि नेपाली श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मेको रौनकता देखिएको छ। विश्वभरिका श्रमिकहरूले आफ्नो विजयोत्सवको रूपमा मनाइने यो दिवसले सधैं नै उत्तिकै महत्त्व राख्छ। यो दिवसले १३५ वर्ष पार गरी १३६ औं वर्षमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published.