इजरायल सित युद्दविराम शुरु भएको इरानी टेलिभिजनको दाबी

असार १०, २०८२
486d4f6417d3bd67c2e578b99eb6f2657dc8a3d1 by Ditible

इरानको सरकारद्वारा संचालन भएको एक टेलिभिजनले इजरायलसँग युद्धविराम शुरु भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि आग्रह गरेपछि इजरायलसँग युद्धविराम शुरु भएको इरानी टेलिभिजनले जनाएको छ । तर युद्धविराम शुरु भएको दाबी गरिरहँदा इरानले इजरायलको दक्षिणी शहर बियरशेभामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

उक्त आक्रमणमा तीन जनाको ज्यान गएको अलजजिराले जनाएको छ । यसअघि इरानी विदेशमन्त्री सईद अब्बास अराघचीले इजरायलले आफ्नो सैन्य आक्रमण रोकेको खण्डमा इरानले पनि कुनै किसिमको प्रतिकार नगर्ने बताएका थिए । अमेरिकी अधिकारीहरूले भने इजरायल र इरान दुवै युद्धविराममा सहमत भएको बताएका छन् ।

अमेरिकी सञ्चार माध्यम सीबीएसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सिधा कुरा गरेर युद्धविराम गर्ने कुरामा सहमति जुटाएका थिए । तर इजरायलको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । यसअघि सामाजिक सञ्जाल मार्फत ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.