बढ्दै महत्त्व, घट्दै उत्पादन – Online Khabar

साउन १७, २०८२
kodo cover new1248 605 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सरकारले कोदोको महत्त्व बढाउन १६ साउनलाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ।
गुल्मीमा कोदो खेतीको क्षेत्रफल घट्दै गए पनि उत्पादन स्थिर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
इस्मा गाउँपालिकाले कोदो खेती प्रविधिमैत्री बनाउन मेसिन खोजिरहेको र संरक्षण अभियान चलाएको अध्यक्ष खड्काले बताए।

१६ साउन, गुल्मी । सरकारले कोदोको महत्त्व बढाउन १६ साउन लाई ‘राष्ट्रिय कोदो दिवस’ मनाउने निर्णय गरेको छ ।

यस वर्ष ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ दिवस मनाउन लागिएको छ ।

पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली कोदोको उत्पादन घटदै गएको छ । तर, यसको महत्त्व भने बढ्दै जान थालेको छ । त्यही भएर सरकारले पनि यसलाई दिवसकै रूपमा मनाउने निर्णय समेत गरेको छ ।

यसले कोदो खेतीको महत्त्व झनै बढ्ने देखिन्छ । तर, राज्यले उत्पादन बढाउन लागत घटाउने काम गर्नुपर्ने देखिन्छ ।

अरू बालीभन्दा कोदो खेती उत्पादन गर्न अलि प्रक्रिया र लागत अलि बढी नै लाग्ने गर्दछ । पहिले कोदो खेती गाउँघरमा अर्मपर्म गरेर रोप्ने प्रचलन थियो ।

त्यसले गर्दा लागतको कुनै हिसाब हुन्थेन । तर, हाल सबै खेताला लगाएर काम गर्दा लागत बढी हुन्छ । त्यसैले पनि यस खेतीमा चासो कम हुँदै गएको छ ।

वषौंदेखि कोदो खेती गर्दै आएका गुल्मी इस्मा–२ का श्यामलाल नेपालीले घरमा परिवार संख्या धेरै हुँदा अर्मपर्म गरेरै कोदो खेती गर्थे । तर, हाल परिवारका सदस्यहरू रोगजारीका सिलसिलामा प्रदेशतिर रहेकाले उनलाई खेती गर्न सकस छ ।

भनेको समयमा खेताला नपाइनु, लागत बढी लाग्दा धेरैले कोदो खेतीको विकल्प खोजेका छन् । उनीजस्ता धैरै किसान अहिले यही समस्यामा छन् । अहिलेसम्म कोदो रोप्न कुनै प्रविधि प्रयोग पनि भएको छैन ।

राज्यले पनि रूपमा उत्पादन बढाउने ठोस खालका योजना ल्याएको पाइँदैन । गुल्मीमा कोदो उत्पादन वर्षेनि घट्दै गएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा प्रत्येक वर्ष कोदो खेतीको क्षेत्रफल घटिरहेको छ । तर, उत्पादनमा भने ठूलो गिरावट देखिँदैन ।

पछिल्लो ५ वर्षको तथ्यांक विश्लेषण गर्दा क्षेत्रफल घटे पनि उत्पादन भने स्थिर छ । गुल्मीमा गत आर्थिक वर्ष २०८१/८२ मा २ हजार ८ सय ३४ हेक्टर क्षेत्रफलमा ३ हजार ५ सय ७० टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत शिवप्रसाद बन्जाडेले बताए ।

अघिल्लो आव २०८०/८१ मा २ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय ९० टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन तथा कोदो खेती अरू खेतीभन्दा अलि झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको बन्जाडेले बताए ।

बीउ छर्ने बेला पानी नपरी खडेरी पर्नु, बीउ कम उम्रनु साथै कोदो रोग (छिर्केमिर्के) देखिनुले उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जंगली जनावरले किसानलाई निकै समस्या दिने गरेको किसान बताउँछन् ।

यहाँका किसानले ‘ओख्ले १’, ‘डल्ले १’ र स्थानीय जातको कोदो लगाउने गर्छन् । जिल्लाका इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट मुख्य पकेट क्षेत्र हुन् ।

अरू ठाउँमा पनि कोदो खेती गरिँदै आएको छ । कोदो खेती असार र साउनमा मकै बारीभित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ ।

परम्परागत रूपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा पनि पर्दै आएको छ ।

गुल्मीमा धेरै उत्पादन हुने अन्नका रूपमा रहेको कोदोको महत्त्व पछिल्लो समय बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि इस्मा गाउँपालिकाले रैथाने बाली संरक्षण अभियान चलाएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

कोदो बाली लगाउने र स्याहार्ने समयमा किसानलाई झन्झटिलो र लागत बढी लाग्ने गरेकाले कोदो खेती गर्ने घट्दै गएको उनले बताए । कोदो खेतीलाई प्रविधिमैत्री बनाएर कम लागतमा बढी उत्पादन गर्नेतर्फ पालिकाको चासो रहेको खड्काको भनाइ छ ।

त्यसका लागि पालिकाले कोदो लगाउने मेसिन खोजिरहेको खड्काले बताए । कोदोको बजारीकरणमा कुनै समस्या नरहेकाले उत्पादनमै यसको समस्या रहेको बताए ।

पश्चिम क्षेत्रमा रहेका स्थानीय सरकारले कृषि उत्पादनलाई संयुक्त रूपमा बजारीकरण गर्न छलफल भइरहेको उनको भनाइ छ । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ ।

गाउँघरको मुख्य खानाको परिकारका रूपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँभन्दा सहरका रेस्टुरेन्ट र होटलमा कोदोको परिकार पाक्ने गरेको छ ।

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुरूप नेपालले १७ पुस २०७९ मा कार्यक्रम सुरु गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यान्न बाली हो ।

गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पुर्‍याउन आजको मुख्य जिम्मेवारी एवं आवश्यकता रहेको इस्मा गाउँपालिका अध्यक्ष खड्काले बताए । लामो समयसम्म नकुहिने र नबिग्रिने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्त्वपूर्ण छ ।

पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो । यसको खेती पहाडी तथा सिँचाइ सुविधा नभएका क्षेत्रमा धेरै हुने गर्छ ।

तर, पछिल्ला वर्ष कोदो खेती गर्ने किसानकको संख्या घट्दै गएको छ । कोदो कम वर्षा र कम उर्वर भूमिमा पनि उत्पादन हुने भएकाले सिञ्चित र असिञ्चित दुवैखाले भूभागमा लगाइने महत्त्वपूर्ण बाली  छ ।

Leave a Reply

Your email address will not be published.