तिमी धर्तीमा आउनु र मेरो जीवनले रफ्तार पक्रनु लगभग एकै समयमा भयो

साउन १७, २०८२
image 99 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

अभिनेता विजय बरालले छोरा प्रजयलाई जन्मदिनको उपहार स्वरुप पत्र लेखेर आफ्नो व्यस्त जीवन र परिवारबीचको सन्तुलनको कथा सुनाए।

अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन्, विजय बराल । ‘पूर्णबहादुरको सारङ्गी’माफर्त जसरी उनले कीर्तिमानी प्रभाव छाड्न सफल भए, त्यसले उनलाई थप बेफुर्सदिलो बनाइदियो । एकपछि अर्को सिनेमाको प्रस्ताव, अन्तर्वार्ता, भेटघाटले गर्दा जीवनको गति तीब्र बनाउनुपर्ने अवस्था आइदियो ।

यो कस्तो समयावधि रह्यो भने, एकातिर उनीसँग खेल्ने उमेरका कलिलो छोरो छन्, अर्कातिर सिनेमाको अविश्राम काम छ । करियर र परिवारको यो सन्तुलन कसरी मिलाउने ? सम्भवत: यही प्रश्नले घेरा हालेपछि उनले छोरोको खातिर एउटा पत्र लेखे, जन्मदिनको उपहार स्वरुप ।

प्यारो छोरा,
धेरै माया ।

तिमी धर्तीमा आउनु र मेरो जीवनले रफ्तार पक्रनु लगभग एकै समयमा भयो । मैले रोकिने समय नै पाइनँ । दिन, महिना गन्दा गन्दै  दुई वर्ष कति चाँडो कटिसकेछ । तर अहिलेसम्म पनि तिमीलाई मन भरिनेगरी छातीमा टाँस्ने मेसो मिलेकै छैन । बाबाको मन न हो । मानेको त छैन । तर पनि यस्तै रहेछ भन्दै हिँडिरहेकै छु । र म यतिखेर कर्मको परिवन्दमाझबाटै यो पत्र लेखिरहेको छु ।

तिमी जन्मिएको धेरै समय बितेकै थिएन, साथीहरूले ‘पूर्णबहादुरको सारंगी’ जन्माइसकेका थिए । तिमी मेरो काखमा खेल्नु अनि मैले फिल्ममा चरित्रको रुपमा बाबाकै रोल गर्न पाउनु यो अनौठो संयोग थियो सायद । मैले तिमीलाई घरमा तिम्रो ‘मा’सँग छोडेर, आफू भने फिल्ममा अभिनय गर्न हिँडे । यसकारणले मैले घरमा राम्रोसँग समय नै दिन पाइनँ । त्यसबेला सबैभन्दा बढी दुईवटा कुरा सम्झिएँ– एउटा घरपरिवार अनि अर्को तिमी । समय मिलेसम्म घर त आउथेँ । तिमीलाई अंगालोमा मात्र हैन, आँखाभरी राख्थेँ। अनि ‘पूर्णबहादुरको सारंगी’ फिल्ममा फेरि बाबा बनेर खेल्नु पनि त थियो ।

तिमी जन्मनुअगाडि र तिमी जन्मिएपछाडि घडीमा घुम्ने सुई र त्यसले दिने समय एउटै भएपनि माया, सम्बन्ध र भावनाको दृष्टिकोणबाट हेर्ने हो भने, समय निकै परिवर्तन हुनेरहेछ । झन् तिम्रो माया र तिम्रो सम्झनाको त कुरै बेग्लै ।

प्रिय प्रजय,

तिमीलाई घरमा छोडेर निस्कन मलाई निकै गाह्रो हुन्थ्यो । तिमीले केही भनिहाल्छौ कि, ‘बाबा’ भनेर रोइ पो हाल्छौ कि भन्ने डरले म सकेसम्म तिमीलाई पनि थाहैनदिई घरबाट झोला बोकेर निस्कन्थें । झोला भन्दा मन भारी हुन्थ्यो । जब तिमी अलिक बुझ्ने भयौ जस्तो लाग्यो, त्यो बेला भने म सर्लक्क निस्किदिन्थें । तिमी भावुक नहोस् भनेर म निस्कने बेला, तिम्री मा लाई समेत अंगालो हालेर निस्कन सक्दैन थिएँ । तर मन न हो । मेरो दुखेजस्तै तिम्री आमाको पनि दुख्दो हो, त्यही सोचेर अलिक पर पुगेर फोन गर्थें र एकछिन गफ गर्दै निस्कन्थें ।

तिम्री मा भन्थिन्, ‘अघि जाने बेलामा चाहिँ केही छैन, अहिले चाहिँ किन फोन गर्नुपर्‍यो ?’ तर सायद यो मेरो तरिका थियो । म आफैसँग विवश थिएँ । मैले सक्दो आफ्नो मनको कुरा मनमा नै लुकाइराखेँ ।

सिलसिला एवंरितले चलिरहेकै थियो । ‘बरिष्ठ बलराम’ फिल्मको सुटिङ चलिरहेको थियो । त्यही बेला मण्डला थिएटरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव पनि चलिरहेको थियो । म महोत्सवको सिलसिलामै थिएँ । तिमीले मलाई देखिहाल्यौ । मलाई प्रष्टै याद छ, तिमीले मलाई ‘बाबा’ पनि भनेनौं, एकछिन यत्तिकै चुपचाप भयौ । के गर्ने के नगर्ने अलमल भयो होला तिमीलाई। त्यसपछि चुपचाप मेरो काखमा आएर बसिराख्यौ । खासै केही बोलेनौ तर मेरो छाती न्यानो बनाइराख्यौ ।

सुटिङको काम सकिएकै थिएन । म त्यही दिन राति नै फेरि चितवन जानुपर्ने थियो । ‘बाबालाई बाई गर न’ भन्दा मन नलागी-नलागी तिमीले मलाई ‘बाई’ भन्यौ । तिमीले सायद आफ्नो मनलाई आफ्नै हातले समातेर ‘बाई’ भन्यौ । म भने तिम्रो साना हातहरूको मुलायम स्पर्श बोकेर चितवनतिर लागें।

‘बरिष्ठ बलराम’को सुटिङ सकाएर आएको भोलिपल्टैबाट म ‘जनै हराएको मान्छे’मा व्यस्त भएँ । यो बीचमा जबजब तिमीले मलाई देख्थ्यौ, त्यो बेला, ‘बाबा बिरालो बनन’, ‘बाबा डाइनोसर बनन’, ‘बाबा आज बाघ बनन’ भन्थ्यौ । एकछिन त बन्थें । तर फेरि काममा निस्कनुपर्थ्यो । तिमी मलाई ‘बाबा एकछिन बसन, मसँग खेलन’ भन्थ्यौ । म खुसी हुन्थें । तर काममा पनि त जानु नै थियो । कामको बाध्यता यही हो सायद । म अलिक भावुक पो भइहाल्छु कि भन्ने लागेर ‘म आइहाल्छु नि बाबु, अहिले म जान्छु ल’ भनेर निस्कन्थें ।

अब म बुझ्न थालेको छु-तिमी आफ्नो भावना प्रस्तुत गर्न सक्ने भएको छौ । तिमीले आफ्नो महसुसलाई पोख्न जान्ने भएको छौ । तिमी हुर्कंदैछौ र तिमीभित्रको मन पनि हुर्कंदैछ । र यतिखेर म पनि तिम्रो मनसँगसँगै हुर्किरहेकै छु । मैले अघि नै भनेजस्तै तिमी आएपछिको हरेक समय बेग्लै भइरहेको छ ।

वैशाख ३ । तिम्रो जन्मदिन । र  म काममै व्यस्त छु । बेलुकी तिमीलाई भेटेर सप्राइज दिन मन छ । कामकै बीचमा यति चै लेखिहाल्न मन लाग्यो ।

बाबु प्रजय, जुन दिन तिमी यो पत्र पढ्न सक्छौ, यो पत्र सायद त्यही दिनका लागि हो । यो पत्र तिमीले त्यसबेला सुम्सुम्याइरहँदा आजको मेरो मनलाई छामिरहेको छौ भनेर बुझ्नु । र यो कुरा थाहा पाउनु कि तिम्रा लागि तिम्रो बाबाको माया सँधै उस्तै छ र उस्तै रहिरहनेछ ।

म कामले गर्दा कुदेको कुदेकै छु । तर तिम्रो एक स्पर्शले मेरो थकान सबै दुर गरिदिन्छ । म आफ्ना लागि र तिम्रा लागि पनि त्यो समय जरुर दिनेछु । यो पत्रसँगै सम्झनामा रहोस् भन्नका लागि तिम्री मा ले खिचेका तस्वीरहरू यसैसाथ राखेको छु । माको न्यानोपनमा, माको मायामा हुर्कंदै जानु ल । अरु केही हुदाँ काका छँदैछ । स्वस्थ रहनू । खुसी रहनू । मुस्कुराइरहनू ।

तिमीलाई बाबाको सधैँ आशीर्वाद छ ।

जन्मदिनको धेरै-धेरै शुभकामना छोरा प्रजय ।

आई लभ यू बेटा ।

Leave a Reply

Your email address will not be published.