सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई अनमीको बाटोमै प्रसूति सेवा

साउन १७, २०८२
anami sutkeri story by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ रुढीकी १८ वर्षीया सूचना दमाईले प्रसव वेदना लागेपछि दुई घन्टा पैदल हिंडेर स्वास्थ्य संस्था पुग्न खोजिन्।
स्वास्थ्य संस्थाबाट अनमी रेखा कट्टेल र स्वीपर सुनकटा विकले बाटोमै अड्किएको साल झिकेर प्रसूति सेवा दिएर आमाको ज्यान जोगाए।
दुर्गम गाउँका महिलाहरूलाई स्वास्थ्य संस्था र यातायातको पहुँच नहुँदा जोखिमपूर्ण अवस्थामा बाटोमै बच्चा जन्माउन बाध्य हुनु परेको छ।

१७ साउन, काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक महिलालाई प्रसव वेदना सुरु भयो । शुक्रबार दिउँसो हिंडेर दुई घन्टा टाढा रहेको स्वास्थ्य संस्था पुग्ने हिम्मत बटुलेर उनी घरबाट निस्किइन् ।

तर, आधा घन्टा पैदल हिंडेपछि लेम्ना पुग्दा उनलाई व्यथाले च्यापो । उनी एक पाइला पनि अगाडि बढ्न नसक्ने अवस्थामा पुगिन् ।

गाउँकै दुई महिलाहरूको सहयोगमा स्वास्थ्य संस्था हिंडेकी उनी बाटोमै छटपाउन थालिन् । सूचना बाटोमै सुत्केरी व्यथाले छट्पटिएपछि न बोकेर लैजान सक्ने अवस्था थियो न त एम्बुलेन्सकै सुविधा ।

पालिकाको वडा नम्बर १ रुढी बस्ने अन्दाजी १८ वर्षकी सूचना दमाईका साथीहरूले अझै डेढ घन्टा टाढा रहेको साप्पाटा स्वास्थ्य चौकीमा खबर गरे ।

स्वास्थ्य संस्थाबाट हतार हतारमा अनमी रेखा कट्टेल र स्वीपर सुनकटा विक व्यथा लागेर छट्पटिएको ठाउँ लेम्नामा आइपुगे । उनीहरू त्यहाँ पुग्दा सूचनाले छोरालाई जन्म दिइसकेकी थिइन् ।

अनमी रेखा कट्टेल।

साल काटिएको थिएन, यो भित्रै अड्किएको थियो भने अत्यधिक रक्तस्राव भइरहेको थियो ।

रेखाले अड्कएिको साल झिकिन्, नालको व्यवस्थापन गरिन् । सूचनालाई त्यहीँ ठाउँमा प्रसूति सेवा दिनुका साथै उपचार गरेर शिशु र आमालाई घर पठाइन् ।

अनमी रेखा भन्छन्, ‘हतार–हतारमा प्रसव वेदनाले छट्पटाइरहेकी महिला भेट्न गयौं, साल अड्किएर रगत बगिरहेको थियो, प्रसव पीडाले छट्पटाइरहेकी थिइन् ।’

उनले थपिन्, ‘हामी समयमै नपुगेको भए आमाको ज्यान जोखिममा पर्ने थियो । धन्न आमा र बच्चालाई बचाउन सफल भयौं ।’

अहिले आमा र बच्चा खतरामुक्त छन् । अनमी रेखाले घरमै पुगेर स्वास्थ्य निगरानी गरिरहेको जानकारी दिइन् ।

‘दुवैको स्वास्थ्य अवस्था सामान्य छ । बाटोबाट स्वास्थ्य संस्था ल्याउने थियौं, तर निकै टाढा, अप्ठ्यारो बाटो र बोकेर लग्नुपर्ने भएकोले घर नै पठायौं,’ रेखाले भनिन् ।

यो काममा रेखालाई सहयोगी स्वीपर सुनकटा र सामुदायिक स्वास्थ्य इकाई जिजुवामा कार्यरत अहेब पालकुमारी विकले सघाइरहेका छन् ।

रेखा करार अनमी हुन्, तर उनी दुर्गम गाउँमा निस्वार्थ भावनाले यसरी जोखिममा परेका आमा र बच्चाको ज्यान जोगाइरहेकी छन् ।

बाजुराका दुर्गम गाउँका महिलाहरू अहिले पनि भौगोलिक विकटता, स्वास्थ्य संस्था र यातायातको सहज पहुँच नहुँदा जोखिमपूर्ण अवस्थामा बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published.