देश–प्रदेशका उद्यमी जोड्दै गण्डकी आइपुग्यो ‘फिने’

साउन १७, २०८२
FederationofNepaleseYoungEntrepreneur by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

पोखरामा जितु गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी गठन भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बसेका युवालाई नेपालमा लगानी गर्न आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नकरात्मक सन्देश चिर्न फिने मार्फत काम गर्न अनुरोध गरे।

१७ साउन, पोखरा । पोखराको बरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी गठन भएको छ ।

शनिबार पोखरामा भएको युवा उद्यमीहरको भेलाले जितुको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

फिने गण्डकीको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने छन् । महासचिवमा इन्जिनियर तथा युवा व्यवसायी चिरञ्जीवी गौतम चयन भएका छन् ।

सचिवमा प्रशुन्न भण्डारी, राजकुमार सुनार, कोषाध्यक्षमा पोशराज पौडेल, सहकोषाध्यक्षमा रुद्र रेग्मी र प्रवक्तामा कृष्णप्रसाद आचार्य भयन भएका छन् ।

समितिको सदस्यहरुमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपाल कृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेलाको उद्घाटन गरेका थिए । भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशमा श्रम, सीप र परिश्रमको थोरै भए पनि हिस्सा नेपालमा लगानी गर्न अनुरोध गर्दै गण्डकीको कानुनले रोकेको भए आफू संशोधन गर्न र बाटो सहज बनाउन तयार रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले नेपालीमा केही भएन, गेरु वस्त्र लगाउने भए नेपाल बस्नु नत्र विदेश आउनु भन्ने भाष्य विदेशमै बस्ने युवा नेपालीहरुले गरेको मुख्यमन्त्री पाण्डेको गुनासो थियो । मुख्यमन्त्री पाण्डेले देशमा केही भएन होइन, केही गर्न सकिन्छ भनेर सोच्न आग्रह गरे ।

‘कि विदेश आउनुस्, कि गेरु वस्त्र लगाउन तयार भएर नेपाल बस्नुस् भनेर विदेशबाट सन्देश दिइरहने युवाहरुलाई च्यालेन्ज गरेर तपाईंहरुले नेपालमा पनि केही अवसर खोज्नुपर्छ, हामी विदेशमा बसेर जे ज्ञान, सीप, पुँजीलाई मेरो मातृभूमिकाप्रति, मेरा परिवार, समाजप्रति पनि मेरो दायित्व छ भनेर केही न केही गरौं’, मुख्यमन्त्री पाण्डेले भने, ‘तपाईंहरु विदेशका जुन–जुन ठाउँमा बस्नुभएको छ, त्यस्तै नेपाललाई पनि बनाउन सकिन्छ । ती देश पनि २/४ दिनमै बनेका होइननन् तर हाम्रा केही राजनीतिक तथा परम्परागत बाध्यता थिए ।’

मुख्यमन्त्री पाण्डेले देशबाहिर उद्यम गरिरहेका व्यक्तिहरुलाई लक्ष्य गर्दै गण्डकीमा राइड सेयरिङको एप बनाइदिनसमेत आग्रह गरे ।

आफूहरुले नेपालीले नै बनाइदिएको एप प्रयोग गर्न चाहेको पाण्डेले बताए । देशमा केही भएन भन्ने भ्रम अहिले सामाजिक सञ्जालबाट छर्ने काम भइरहेको भन्दै पाण्डेले उद्यममा सघाउन अनुरोधसमेत गरे ।

अर्का विशेष वक्ता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि आफू विदेश जाँदा नेपालप्रति धेरै नकरात्मक सन्देश पाएको बताउँदै त्यो चिर्नुपर्ने आवश्यक रहेकोमै जोड दिएका थिए ।

नयाँनयाँ उद्यम गर्न प्रेरित गर्ने र आफू जुन देशमा बसिररहेको छ, त्यो देशमा आफूले पाउने सुविधाजस्तै यहाँ पनि उपलब्ध गराउन सघाउने हो भने नेपालले फड्को मार्ने उनको भनाइ थियो ।

आफूले गर्नुपर्ने दायित्व पूरा नगर्ने तर नकरात्मक सन्देशमात्र छर्ने क्रम बढेको भन्दै ढकालले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघमार्फत यसलाई चिर्नेगरी काम गर्न अनुरोध गरे ।

एकैपटकमा सफल कोही पनि नहुने तर नयाँ नयाँ सोच र अनवरत प्रयास भने जारी राख्न उनले उद्यमीहरुलाई आग्रह गरे ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघमा धेरै जना युवाहरुमात्र भएकाले यसले नेपालका निम्ति धेरै सम्भावनाहरुको ढोका खोल्न सक्ने बताए ।

ढकालले आफू पनि अनेक हण्डरठक्कर खाँदै असफलताबाट पाठ सिक्दै यहाँसम्म आइपुगेको सुनाए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले ६ हजार वटाभन्दा बढी योजनामा विदेशबाट ६ अर्बभन्दा बढी लगानी भएको बताउँदै स्टार्टअपको क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालले पनि उद्यमको क्षेत्रमा काम गर्न नयाँ नयाँ प्लान गराइरहेको सुनाए ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)का उपाध्यक्ष शमीम अन्वरले आफू पनि धेरै उद्यममा असफल भए पनि हार नमानेर लागेपछि बल्ल लय समातेको बताए । अहिले आफूले पनि विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताउँदै अन्वरले फिनेले अब व्यावसायिक सहकार्य, उद्यमीलाई प्रोत्साहन गर्नेदेखि ज्ञान हस्तान्तरणसम्मको काम गर्ने बताए ।

फिने बागमतीमा पनि गठन भइसकेको र निकट भविष्यमा सबै प्रदेशमा गठन गर्दै लैजाने र अन्तर्राष्ट्रिय सञ्जाल पनि बढाइँदै जाने बताए ।

फिने बागमतीका सल्लाहकार रामकुमार थपलियाले पनि यो संस्थाले हरेक क्षेत्रका उद्यमीलाई प्रोत्साहन तथा ज्ञान आदान–प्रदान गर्ने बताए ।

देशमा केही हुँदैन भन्ने भाष्यलाई परिवर्तन गर्दै देशमा केही हुन्छ र त्यसमा विदेश बस्नेहरुको पनि दायित्व हुन्छ भनेर स्थापित गर्ने काम फिनेले गर्ने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)का केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले स्थापनाको छोटो समयमै फिनेले आफ्नो सञ्जाल तीव्र गतिमा विस्तार गरिसकेको बताए ।

विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीबीच पुलको काम फिनेले गरिरहेको उनको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनलाई विदेशमा ब्रान्डिङ गर्ने उद्देश्यसहित प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र देशविदेशमा रहेका युवा उद्यमीलाई जोड्ने लक्ष्य लिएको छ ।

सोही लक्ष्यअनुसार विदेशमा मात्र सञ्जाल रहेको फिनेले बागमती प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरेर नेपालमा रहेका युवा उद्यमीहरूलाई जोड्ने पहिलो खुड्किलो तयार गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.