रिस उठ्यो भन्दैमा भाग्न पाइँदैन – Online Khabar

साउन १७, २०८२
barshaman pun 2082 04 17 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदा पार्टी छाडेर भाग्न नपाइने बताएका छन्।
पुनले नेताहरुबीचको सम्बन्ध मैत्रीपूर्ण नभए रुपान्तरणमा सहयोग नहुने र नेताहरुका कमजोरी आलोचनाभन्दा माथि नभएको उल्लेख गरे।
उपमहासचिव जनार्दन शर्माको अभिव्यक्तिपछि अध्यक्ष प्रचण्डले सिंगौरी खेल्न छुट दिएको जवाफ दिएका थिए।

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् ।

नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौ’, उनले भने ।

किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२औं स्मृति दिवसको सन्दर्भमा माओवादी पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा कार्यक्रममा बोल्दै पुनले व्यवस्था बदल्ने संघर्षबाट आएको भन्दै भाग्न नमिल्ने तर्क गरे ।

‘जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरुका सपनाको जिम्मा लिनुपर्छ’, उनले भने ।

सत्तारुढ दल र माओवादीविरोधीहरुले पार्टीलाई फुटतर्फ लैजान प्रयसा गर्न सक्ने भन्दै उनले नेताकार्यकर्ता सचेत हुनुपर्ने बताए ।

उपमहासचिव पुनले अध्यक्ष प्रचण्डसहित नेताहरु पनि कमजोरी र आलोचनाभन्दा माथि नभएको बताए । तर, नेताहरुबीचको सम्बन्ध मैत्रीपूर्ण, सौहार्द नभए रुपान्तरणमा सहयोग नहुने उनको भनाइ छ ।

केही दिन अघि काठमाडौंमा भएको एक कार्यक्रममा पनि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए । शर्माको उक्त अभिव्यक्तिपछि प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै सिंगौरी खेल्न आफूले छुट दिएको जवाफ दिएका थिए ।

पार्टीमा अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्गप्रशस्त गर्नुपर्ने एजेन्डा उठाउँदै आएका उपमहासचिव शर्मालाई लक्षित गर्दै अर्का उपमहासचिव पुनले रिस उठ्दैमा पार्टी छाडेर जान नहुने भन्दै ढाडस दिएका छन् ।

Leave a Reply

Your email address will not be published.