माधव नेपालबाट त्यस्तो अभिव्यक्ति आउला भन्ने अपेक्षा थिएन : झलनाथ – Online Khabar

साउन १८, २०८२
Jhalanath khanal by Ditible

१७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि पोखेका छन् ।

शनिबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले नेपालले आफूबारे दिएको अभिव्यक्तिप्रति चित्त दुखाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।

त्यसमा आपत्ति जनाउँदै अध्यक्ष नेपालले त्यस्तो बोलेको हो भने पार्टीमा बस्ने ठाउँ नभएको बताएका थिए ।

‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन,’ नेपालले विराटनगरमा भनेका थिए ।

शनिबार सोही विषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरेका खनालले अध्यक्ष नेपालबाट यस्तो अभिव्यक्ति आउला भनेर आफूले नसोचेको बताए ।

‘नेताले कहिल्यै यस्तो अभिव्यक्ति दिँदैन । माधव कुमार नेपालको मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने मैले अपेक्षा नै गरेको थिइनँ । यदी मैले बोलेका कुराले, मैले लेखेका कुराले केही समस्या खडा भएको छ भने पार्टी त ज्युँदै छ त,’ खनालले भनेका छन् ।

साथै, उनले पार्टी बैठक बोलाएर यस्ता कुरामा छलफल र बहस हुनुपर्ने पनि बताएका छन् ।

‘पार्टीको बैठक बोलाउँदा हुन्छ, बैठक गरेर समाधान गर्दा हुन्छ । बहस त हुन्छ । विभिन्न ढंगबाट छलफल गर्ने, बहस गर्ने हुनसक्छ,’ उनले भनेका छन्, ‘त्यस्ता कुरामा असाध्यै अधिर भएर अस्थिर भएर बोल्ने काम कम्युनिस्ट पार्टीका नेताले बोल्नु गलत हुन्छ ।’

खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए ।

‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’

उनले अध्यक्ष नेपालसँग ०३२ सालदेखिको सहकार्य भएको भन्दै उनले माधव नेपालबाट सन्तुष्ट हुन नसकिएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published.