हेटौंडाको प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण

साउन १८, २०८२
hetauda krishi bazar2082 04 18 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजार एक वर्षपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
थोक बजारको ७० प्रतिशत लगानी बागमती प्रदेश सरकारको र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाको छ र भवनमा पार्किङ, सटर, लिफ्ट सुविधा छन्।
थोक बजारले ५०० मेट्रिक टन भण्डारण क्षमता सहित किसानको कृषि उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उपमहानगरपालिकाले जनाएको छ।

१८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको आधुनिक कृषि थोक बजारको आइतबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । थोक बजार गत भदौ ०८१ मा तयार भइसकेको संरचना हो ।

थोक बजार सञ्चालन कार्यविधि नबनेका कारण भवन अलपत्र बन्दै आएको थियो । आइतबार कृषिमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले नगर प्रमुख लामालाई साँचो प्रदान गर्दै भवन हस्तान्तरण पनि गरेका थिए ।

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा कार्यालयले लिने सहमति भएको थियो ।

प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।

सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । ३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ लागत अनुमान (५ तल्लाको डिपिआर) रहेको भवन ३२ करोड १० लाख ५० हजार ७ सय १५ लागतमा बेसमेन्ट सहित ३ तल्लाको निर्माण भएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।

थोकबजार निर्माणका लागि अनक/माउन्टेन जेभी काठमाडौंले ठेक्का पाएको थियो । ९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ७ महिना म्याद थप भएर काम गरिएको थियो ।

थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभर्‍याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर/टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा शिलान्यास गरिएको थियो ।

कृषि थोक बजारमा के–के सुविधा छ ?

हेटौंडा उपमहानगरपालिका कार्यालयकाअनुार भवनको होलसेल मार्केटको बेसमेन्टमा कार र मोटरसाइकल पार्किङ, भुइँ तल्लामा २० वटा सटर, ४ वटा कार्गाे, २ वटा प्यासेन्जर लिफ्ट, पहिलो तल्लामा २० वटा सटर रहेको छ ।

बजारको रिटेल सपको भुई तल्लामा ११ वटा सटर, २ कार्गाे लिफ्ट, २० सटर, पहिलो तल्लामा १२ वटा सटर सहित किसानको २ सय ३२ बर्गमिटरको टहरा रहेको छ ।

४३७ दशमलव २ बर्गमिटरको ५०० मेट्रिक टन भण्डारण क्षमता रहेको कोल्ड स्टोरेजसहितको बजारले प्रदेशमा रहेका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published.