शेखर कोइराला – Online Khabar

साउन १८, २०८२
sekhar koirala by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कांग्रेस नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन्।
कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र खतरामा रहेको पनि बताए।
उनले मिलिजुली सरकार बनाउने बाध्यता भए पनि पार्टीका सिद्धान्त र व्यवहार छाड्न नहुने जिकिर गरे।

१८ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाईं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले सुशासनको अनुभूति गर्न नसकेको जिकिर गरे ।

‘अहिले सरकार न जवाफदेही छ, न उत्तरदायी छ न पारदर्शी छ । यो सबै कुराका लागि सुशासन हुन जरुरी छ,’ कोइरालाले भनेका छन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको उनको धारणा थियो ।

‘न्यायालय ठिक ठाउँमा छैन । व्यवस्थापिका पनि ठिक ठाउँमा छैन, कार्यपालिका पनि ठिक ठाउँमा छैन भने हामी कसरी देश अघि बढाउन सक्छौं ?,’ कोइरालाले भने, ‘प्रधानमन्त्री मात्रै फेरेर मात्रै, मन्त्री मात्रै फेरेर देश ठिक ठाउँमा अघि बढ्ने होइन होला ?’

मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको उनले बताए । तर, मिलिजुली सरकार बनाउने बाहनामा पार्टीका सिद्धान्त र व्यवहारलाई छाड्न नहुने उनको भनाइ थियो ।

‘डेमोक्रेसी धरापमा छ । हामीहरूले निर्वाचन प्रणाली नै यस्तो बनाएका छौं, हामीसँग मिलिजुली सरकार बनाउनुको विकल्प छैन,’ उनले भने, ‘मिलिजुली सरकारको नाममा रहेका कुरा छोड्दै जाने हो, सैद्धान्तिक धरातल छाड्दै जाने हो भने कस्तो कांग्रेस हामी बनाउँदैछौं भन्ने कुरा सोच्नुपर्‍यो ।’

Leave a Reply

Your email address will not be published.