फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ ६ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका छन्।
कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि लामाले सभापति देउवाको निर्देशनमा पदबाट राजीनामा दिन लागेका हुन्।
राजीनामापछि इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको छ।
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिने जानकारी दिए ।
१४ साउनमा कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मार्गप्रसस्त गर्न लागेका हुन् ।
शनिबार सभापति देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । लामाको राजीनामापछि बानियाँले सोमबार प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको उनी निकट सांसद मिनकृष्ण महर्जनले बताए ।
मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट पराजित भए पनि सरकारको नेतृत्व छाड्नुपर्ने कुनै आधार नरहेको बताउँदै आएका थिए ।
दलको नेतामा चयन भएका बानियाँले कांग्रेस संसदीय दलको विधान अनुसार लामाले राजीनामा दिनुपर्ने बताउँदै विधि र पद्धतिबाटै बसदा गरिने बताएका थिए ।
मुख्यमन्त्री नछाड्ने अडानपछि १६ साउनमा उनलाई सभापति देउवाले काठमाडौं बोलाएका थिए । देउवासँग भेटपछि उनी सरकार छोड्न तयार भएको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले The Wiribleलाई जानकारी दिए ।
९ साउनमा आफ्नै बहुमत सांसदले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए ।
१३ साउनमा कांग्रेसका ३७ सांसदमध्ये अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षामा १५ मत परेपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।
१४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँले २२, बहादुरले १४ मत ल्याएका थिए भने १ मत बदर भएको थियो ।