थारू आयोगका कार्यबाहक अध्यक्षको कार्यकक्षा ताला लगाउँदै सदस्य शान्ति मोदी (बायाँ) र आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारू (दायाँ)।।
News Summary
Generated by OK AI. Editorially reviewed.
थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै ताला लगाएर थुनिदिएकी छन्।
सदस्य मोदीले एक हप्ताको बिदा लिएर एक महिना गायब भई हाजिरी विवाद हुँदा ताला लगाएको कार्यबाहक अध्यक्ष थारूले बताए।
प्रहरीले ताला खोलेर कार्यवाहक अध्यक्षलाई बाहिर निकालेका छन् भने सदस्य मोदीले आफू कार्यालयमा हाजिर भए पनि हाजिरी गर्न नदिएको स्वीकार गरिन्।
१८ साउन, काठमाडौं। थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यवाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइदिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यवाहक सिंहलाई बाहिर निकालेको छ ।
आयोगका सदस्य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले बताए ।
उनले The Wiribleसँग भने, ‘ उहाँ (माननीय शान्ति मोदी)ले एक हप्ताको बिदा लिनुभयो। हामीले दियौं। तर, उहाँ एक महिना बेपत्ता हुनुभयो। हामीले खोजीनिती गर्यौं। कुनै सम्पर्कमा आउनुभएन। अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो। म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो।’
‘दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोल्न लगाएका छौं’ उनले भने ।
यता, सदस्य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भए पनि हाजिरी गर्न नदिएपछि कार्यवाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।
उनले The Wiribleसँग भनिन्, ‘ म बुधबारदेखि आयोगको कार्यालयमा हाजिर छु। तर मलाई कार्यवाहक अध्यक्षज्यूले हाजिरी गर्न नै दिनुभएन। त्यसैले आज ताला लगाइदिएँ।’ पछि आफैंले प्रहरी बोलाएर खोल्न लगाएको सदस्य मोदीले बताइन् ।