अग्नि सापकोटा – Online Khabar

साउन १८, २०८२
agni sapkota 2082 04 18 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले स्थायी कमिटीमा अधिकांशले प्रचण्डको विकल्प नखोज्ने मत राखेको बताए।
उपाध्यक्ष सापकोटाले नेतृत्वको विकल्प खोज्ने मत पार्टीभित्र कमजोर भएको दाबी गरे।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको १० बुँदे प्रस्तावलाई अधिकांशले समर्थन गरेको उनले जानकारी दिए।

१८ साउन,  काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले स्थायी कमिटीमा अधिकांशले प्रचण्डको विकल्प नखोज्ने मत राखेको बताएका छन् ।

आइतबार पनि जारी स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले नेतृत्वको विकल्प खोज्ने मत पार्टीभित्र कमजोर बनेको दाबी गरेका छन् ।

उनले भने, ‘हिजो पनि अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर प्रष्ट रुपमा राख्नु भाछ, आज पनि प्राय: सबैले नेतृत्व उस्तै मत राख्नुभएको छ ।’

बाहिरी मञ्चहरूमा नेतृत्वको विकल्पबारे कुरा उठाउँदै आएका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बैठकमा भने त्यसबारे नबोलेको दाबी उनले गरे । शर्माले आफ्ना अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने भनी स्थायी कमिटी सदस्यहरुले आवाज उठाए पनि आत्मालोचित हुन नचाहेको देखिएको उनले बताए ।

‘नेतृत्वको सम्बन्धमा खासै कुरा गर्नुभएन जनार्दन जीले, मैले जे कुरा राखेको छु ठिकै राखेको छु भन्नुभएको छ, अरु त सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्छ भन्नुभएको छ’, उनले भने ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले अहिले तत्काल नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका उपाध्यक्ष सापकोटाले पत्रकारहरूसँग बताए ।

शनिबारको सचिव राम कार्कीले पनि बैठकमा नेतृत्वको विकल्पका विषयमा कुरा उठाएका थिए । तर, नेतृत्वको विकल्पको एजेन्डामा फरक मत राख्ने नेताहरु न्यून नरहेको भन्दै उपाध्यक्ष सापकोटाले त्यसको अर्थ नहुने बताए ।

‘एक दुई बाहेक अधिकांशले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको १० बुँदे प्रस्तावको समर्थन नै गर्नुभएको छ, कसैले पनि अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने भन्नुभएको छैन, एकाध दुईले बोलेको कुराको अर्थ हुँदैन ।’

सचिव कार्कीले पार्टीको नेतृत्व रोटेशन प्रणालीमा लैजानुपर्ने बताएका थिए । कार्कीको प्रस्तावप्रति पत्रकारले राखेको जिज्ञासामा उपाध्यक्ष सापकोटाले भने, ‘त्यो कुरै हो, कुराका लागि कुरा त जे कुरा पनि गर्न सकिन्छ, कम्युनिस्ट पार्टीको रोटेशन भनेको कुराका लागि कुरा हो, असम्भव हो कुरा । तर, त्यो कुरा त्यति सही, वैज्ञानिक, वस्तुवादी हुँदैन ।’

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहनेछ । शनिबार र आइतबार धेरैजसो स्थायी कमिटी सदस्य पदाधिकारीले धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोल्ने सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.