नीतिगत सुधार नगरी भिजिट भिसा समस्याको समाधान हुन्नः महानिर्देशक तिवारी

साउन १८, २०८२
ADhyagaman bivag Ramchandra Tiwari Final by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा देखिएको समस्या नीतिगत सुधार नगरी समाधान नहुने बताउनुभयो।
उहाँले अफलोड गरिएका व्यक्तिहरू फेरि अर्को दिन उड्ने र उच्च प्रविधिको कागजातले पनि छुट्याउन गाह्रो हुने उल्लेख गर्नुभयो।
तिवारीले समग्र श्रम बजारको नीतिगत समाधान आवश्यक रहेको र उद्दार गरिएका पनि पुनः विदेश गएको जानकारी दिनुभयो।

१८ साउन, काठमाडौं । अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले नीतिगत सुधार नगरी भिजिट भिसामा देखिएको समस्या समाधान नहुने बताएका छन् ।

लामो समयदेखि भिजिट भिसाका नाममा असुली भएको सुन्ने गरेको भन्दै यो समस्याको निराकरणका लागि नीतिगत सुधार गर्न आफूहरुले अध्ययन गरिरहेको उनले बताए ।

‘काठमाडौंमा इमान्दार भएर रोकियो भने त्यो मान्छे फेरि १९ लाख, २० लाख खर्चको अरु २ लाख थपेर दिल्लीबाट उड्छ, हामीले काठमाडौंबाट अफलोड गरेको मान्छे यहीँ रहेर खेतीपानी गर्‍यो भन्ने कहिल्यै सुनिएको छैन’, उनी भन्छन्, ‘अफलोड गर्दा समाधान हुने भए त त्यस्तो सुनिनुपर्ने नि! त्यसको अर्थ हो, अफलोड गरिएका व्यक्ति पनि लगत्तै फेरि अर्को दिन उड्छन् ।’

उच्च प्रविधिको प्रयोग गरेर बनाइने कागजात प्रस्तुत गरेपछि को सही हो र को होइन भन्ने छुट्टयाउन पनि गाह्रो पर्ने गरेको उनी बताउँछन् ।

‘यो श्रम बजारको समस्या हो, तर अध्यागमनको औजारले मात्र समाधान गर्न खोज्यौं’, उनी भन्छन्, ‘किनभने, अध्यागमनको प्रणालीमा आउनुअघि ऊ तीन तहको एजेन्ट, एयरलाइन्स कम्पनी÷टिकटिङ पोर्टल, चेक इन काउन्टरबाट गुज्रिएको हुन्छ ।’

त्यसपछि बल्ल सम्बन्धित व्यक्ति अध्यागमनको काउन्टरमा पुग्ने र त्यो तहमा २० देखि ४० हजार रुपैयाँसम्म लिने गरिएको विवरण आएको उनी बताउँछन् । ‘यसले पनि के देखाउँछ भने अध्यागमनमा मात्र सुधार गरेर यो समस्या समाधान हुँदैन, समग्र श्रम बजारकै नीतिगत समाधान गर्नुपर्छ’, उनी भन्छन् ।

आफूले विभागको जिम्मेवारी पाएपछि यसबारे अध्ययन गर्न थालेको बताउँदै उनी भारतबाट उद्दार गरेर ल्याइएका भनिएकाहरु पनि फेरि भिजिट भिसामा गएको पाइएको सुनाउँछन् ।

‘फर्काएर ल्याएको पनि फेरि भोलिपल्टदेखि विदेश गएका छन्, म दिल्ली एउटा र्वार्तामा थिएँ, त्यसबोला ७४ जना मान्छे हामीले फर्कायौँ,’ उनी भन्छन्, ‘फर्काउने ठूलो समाचार बन्यो, तर पछि तपाईंहरू कसैले हेर्नुभएको छ, तिनले के गरे ? दुई महिनापछि उनीहरु फेरि जान्छन् ।’

Leave a Reply

Your email address will not be published.