१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा प्रश्न उठाएकोमा आत्मालोचना गर्न सुझाव दिएका छन् ।
सोमबार स्थायी कमिटी बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गरेर स्थायी कमिटी सदस्यहरूको मान राख्न आग्रह गरेका हुन् ।
‘आत्मालोचना करकापको विषय होइन, तपाईंलाई रियलाइजेशन छ भने आत्मसमीक्षा गर्नुस्’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले The Wiribleसँग भने, ‘सिंगो स्थायी कमिटीको स्पिरिट पनि त्यही हो ।’
जवाफमा उपमहासचिव शर्माले आफूले जायज प्रश्नहरू नै उठाएको र ती यथावत् रहेको बताएका थिए ।
‘मेरा कुराहरू यथावत् छन्, मैले आफ्नो हिस्साको कमजोरीको मात्रै जिम्मा लिन्छु’ बैठकमा शर्माले भने, ‘कमी–कमजोरीहरू सबैका भएका छन् ।’
उनले पार्टीमा अब प्रतिस्पर्धाको वातावरण तयार हुनुपर्ने बताए ।
‘पार्टी फुटाएर जान्छ भनेर अध्यक्षले नै भन्न थाल्नुभो, त्यस्तो होइन पार्टी फुटाएर जाँदिनँ’ उनले भने, ‘आत्मालोचना गर्दिनँ, कमी–कमजोरी सच्याउने कुरा सबैमा लागू हुन्छ, मेरो मात्रै कुरा होइन ।’
अहिलेसम्म बैठकका माइन्युटहरूमा हस्ताक्षर नगरेकोमा भने उनले गल्ती महसुस गरेको बताएका छन् । आफूले राख्दै आएका केही सवालहरूमा बैठकमा छलफल होस् भन्ने चाहेको र छलफलै नभएपछि हस्ताक्षर नगरेको उनको भनाइ थियो ।
‘माइन्युटमा हस्ताक्षर नभएको विषयमा हस्ताक्षर नगरेकोमा म आत्मालोचित छु’ शर्माले भने, ‘मैले छलफल होस् भन्ने चाहेको थियो । छलफल भयो । अब माइन्युटमा हस्ताक्षर गर्छु ।’