News Summary
Generated by OK AI. Editorially reviewed.
रास्वपाले संघीय संसद्मा रहेका अन्य दलहरूलाई उछिन्दै रूपन्देही–३ उपचुनावको तयारीमा जुटेको छ।
सभापति रवि लामिछाने कारागारमा रहँदा पनि पार्टी नेताहरूले रूपन्देही–३ मा चुनाव प्रचारलाई प्राथमिकता दिएका छन्।
रास्वपाले हस्ताक्षर अभियानलाई चुनावी उद्देश्यसहित जारी राख्दै करिब एक लाख हस्ताक्षर संकलन गर्ने योजना बनाएको छ।
१९ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय संसद्मा रहेका अन्य दलहरूलाई उछिन्दै रूपन्देही–३ उपचुनावको तयारीमा जुटेको छ ।
आगामी १७ कात्तिकमा हुने उपचुनावका लागि रास्वपाले उम्मेदवार हुन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरिसकेको छ । सो दलले साउन ७ देखि २१ सम्म आवेदनका लागि समय दिएको छ ।
रास्वपाले चुनाव आउनु दुई महिनाअघि नै उम्मेदवार तय गर्ने भएको छ । पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५ भदौमा उम्मेदवार तय हुनेछ ।
रास्वपाले रुपन्देही–३ उपचुनावका लागि उम्मेदवार छनोटको विधिसमेत अन्य दलले भन्दा फरक तय गरेको छ । सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यको नेतृत्वमा उम्मेदवार छनोटका लागि विधि निर्माण गरिएको छ । प्रारम्भिक चुनावमार्फत उम्मेदवार छनोट गर्ने विधिअनुसार रास्वपाले कार्यतालिका सार्वजनिक गरेको छ ।
तनहुँ र चितवनको उपचुनावमा ‘अभूतपूर्व’ सफलता पाएर इलाम र बारामा ‘शर्मनाक’ पराजय भोगेको रास्वपाले रूपन्देही–३ लाई प्रतिष्ठाको विषय बनाएको छ । परिणामस्वरूप, रास्वपाका नेताहरूको रूपन्देही–३ मा आउजाउ बाक्लिएको छ ।
२०७९ सालमा रास्वपा विनासंगठन चुनावमा होमिएको थियो । उपचुनावलाई संगठन निर्माणको अवसरका रूपमा पनि रास्वपाले अघि बढाएको छ ।
रास्वपा नेताहरूको रूपन्देहीमा आउजाउ बढ्नुमा दुईवटा उद्देश्य छन् । ती हुन्- सभापति रवि लामिछाने भैरहवामै कारागारमा रहेकाले उनलाई भेट्ने र त्यही क्षेत्रमा हुन लागेको उपचुनावको प्रचारमा खटिने ।
कारागारमा सभापति लामिछानेलाई भेटेर फर्केका नेताहरूले उपचुनावलाई प्राथमिकतामा राखेर कुराकानी भएको प्रतिक्रिया दिएका छन् । सभापति लामिछानेलाई भेट्ने नेताहरू रुपन्देही–३ को चुनावमा केन्द्रित हुन निर्देशन दिएको सुनाउँछन् ।
सांसद सोविता गौतमले सभापति लामिछानेले जनताका मुद्दा थप प्रभावकारी रूपले उठाउन र उपचुनावमा केन्द्रित हुन पार्टी नेताहरूलाई निर्देशन दिएको प्रतिक्रिया दिइन् ।
गत साता भैरहवामा रास्वपाको संसदीय दलको बैठक बस्यो । बैठकमा पार्टीका १९ जना सांसदमध्ये १७ जना सहभागी थिए । उपचुनावमा रास्वपाको प्रचार हुनेगरी शीर्ष तहका नेतासहित १७ जना स्थानीयको घरमा बास बसे ।
चुनावी प्रचारका लागि दुई उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेको भैरहवा ओर्लने क्रम बढेको छ । प्रचारकै लागि उपसभापति वाग्ले पछिल्लो समय तीनपटक रूपन्देही–३ मा पुगेका छन् ।
सभापति लामिछाने रूपन्देही–३ मा कारागारमा रहेको हुँदा पनि प्रचारमा सहयोग पुग्ने रास्वपाका नेताहरूको विश्वास छ । ‘पार्टी सभापतिलाई अड्डासार गर्न दिएनन् । रूपन्देही–३ मै हुनुहन्छ,’ उपसभापति वाग्लेले सभापतिसँगको भेटपछि पत्रकारलाई भने, ‘अलिअलि प्रभाव त परिहाल्छ नि ।
रास्वपाका केन्द्रीयदेखि जिल्ला तहका नेताहरू स्थानीयको घरघर पुगेका छन् । नेताहरूले घरदैलोलाई प्राथमिकतामा राख्नुका साथै पेसागत क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई भेटेर कुराकानी गरेका छन् ।
७ असारबाट सुरु भएको हस्ताक्षर अभियानलाई समेत रूपन्देही–३ मा प्रचार अभियानसँगै जोडिएको छ । आसन्न चुनावमा माहोल बनाउन नेताहरू यस क्षेत्रमा रहेका ७ वटै पालिकाका वडाहरूमा पुगेका छन् ।
अघिल्लो साता क्षेत्रमा दुई दिन खटिएका नेताहरू बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, मायादेवी, ओमसतिया, सियारी र शुद्धोधनका वडाका मतदाताकहाँ पुगे ।
रास्वपा प्रवक्ता मनिष झाले अहिले पार्टी हस्ताक्षर अभियानमा केन्द्रित हुनुको अर्थ त्यसभित्र चुनावी उद्देश्यसमेत रहेको खुलाए । ‘चुनाव लागिसक्यो, हाम्रो हस्ताक्षर अभियानभित्र चुनाव लुकेको छ,’ झा भन्छन् ।
दुई दिनसम्म रूपन्देही–३ मा रहँदा मतदाताका धेरै कुरा सुन्न पाएको पार्टी प्रवक्ता झाले बताए । ‘मुख्य कुरा पुराना दलबाट वाक्क भएकाले अब नयाँ नै रोज्ने हो । धेरैले अबको चुनावमा मत परिवर्तन गर्छौं भन्नुभएको छ,’ प्रवक्ता झा भन्छन्, ‘हस्ताक्षर अभियानमा आम मतदाताको उत्साहजनक सहभागिता छ । चुनाव आचारसंहिता लागू नहुँदासम्म जारी राखेर करिब एक लाख हाराहारी हस्ताक्षर यही क्षेत्रमा पुर्याउँछौं ।’
गत चुनावमा रूपन्देही–३ मा रास्वपा समानुपातिकतर्फ १४ हजार मतसहित तेस्रो स्थानमा रहेको थियो । रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ पनि तेस्रो स्थानको मत ल्याएका थिए ।
रास्वपा उम्मेदवार जीतबहादुर गुप्ता तेलीले गत चुनावमा ५ हजार ७९६ मत ल्याएका थिए । समानुपातिकतर्फ पहिलो स्थानमा कांग्रेस र दोस्रो स्थानमा एमालेले मत ल्याएका थिए ।
प्रत्यक्षतर्फ एमालेसँग चुनावी तालमेल गरेर राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । उनीसँग कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका थिए । एक लाख ३० हजार बढी मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । गत स्थानीय तह र समानुपातिक मतको आधारमा यस क्षेत्रमा कांग्रेस पहिलो दल हो ।
रुपन्देही-३ को उपचुनावमा सन्तोष गिरी, किरण विक, लेखनाथ गैरे, अजयकुमार गुप्ता लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका गिरीले रास्वपासँग सहकार्य हुनसक्ने बताएका थिए ।
पार्टीले तय गरेको विधि अपनाएर मात्रै उम्मेदवार हुन पाउने रास्वपाले जनाएको छ । प्रवक्ता झा भन्छन्, ‘जोसुकै हाम्रो पार्टीको प्रक्रियाभित्र आउनुभयो र हाम्रो दलभित्र योग्य र सक्षम देखिनुभयो भने उहाँलाई नै उम्मेदवार बनाउन पनि सक्छौं । तर, प्रक्रिया बाहिरबाट आएको व्यक्ति उम्मेदवार हुने अवस्था हुँदैन ।’
एमाले र कांग्रेस सम्मिलित सरकारले जनअपेक्षाअनुसार काम नगरेको निर्क्योलसहित रास्वपा नेताहरू मतदाताकहाँ पुगेका छन् ।
उपसभापति डीपी अर्यालका अनुसार वर्तमान गठबन्धन सरकारप्रति जनता आशावादी छैनन् । प्रदेश र स्थानीय सरकारबाट पनि जनताका माग सुनुवाइ नभएकाले सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकपटक रास्वपालाई हेर्नुपर्छ भन्ने जनमत देखिएको अर्यालले दाबी गरे । घरदैलोका क्रममा नागरिकले उत्साहपूर्ण सहभागिता जनाएको अर्यालले बताए ।
रूपन्देही–३ को चुनाव प्रचारमा पूरै पार्टीको शक्ति परिचालित हुँदा जिल्लाका तथा क्षेत्रका रास्वपा नेताहरू उत्साहित छन् । रूपन्देही–३ का रास्वपा सभापति मधुप्रसाद अर्यालले पार्टीभित्र उत्साह थपिएको बताए । नेताहरू क्षेत्रमा आउने क्रम बाक्लिँदा चुनावी माहोल बनेको अर्यालले प्रतिक्रिया दिए ।
क्षेत्रीय सभापति अर्यालले यस क्षेत्रमा रहेका ३६ वटै वडामा पार्टी संगठन निर्माण हुने क्रममा रहेको दाबी गरे । उनले The Wiribleसँग भने, ‘शीर्ष नेता र सिंगो संसदीय दल रुपन्देही–३ मा आउँदा नेता/कार्यकर्ता मात्र होइन, सर्वसाधारणमा पनि पार्टीप्रति आशा र विश्वास बढेको छ ।’