असोज १ गतेबाट इम्बोस्ड नम्बर सबै प्रदेशमा अनिवार्य

साउन २०, २०८२
embossed number plate compulsary from 1th of ashoj2082 04 191 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सवारी साधनमा सबै प्रदेशमा २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने निर्णय भएको छ।
सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच सवारी चालक अनुमतिपत्र छपाइको लागि सहमति भएको र छपाइ यथाशीघ्र सुरु गर्न अनुरोध गर्ने निर्णय भएको छ।
सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरुपता कायम गर्ने, तथ्याङ्क डिजिटलाइज गर्ने र भुक्तानी विद्युतीय माध्यममा लैजाने निर्णय बैठकले गरेको छ।

२० साउन, काठमाडौं । सवारी साधनमा सबै प्रदेशमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने/गराउने निर्णय गरेको हो ।

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ ।

यसै गरी सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ असार मसान्तसम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन शुरू गर्ने गरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकोमा भदाै मसान्तभित्र यथाशीघ्र छपाइ शुरू गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सुचारू गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ ।

बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरुपता कायम गरी लागू गर्ने लगायतका निर्णय पनि गरेको छ ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

मन्त्री दाहालले संविधान तथा ऐनहरुले निर्दिष्ट गरेको व्यवस्थाहरु कार्यान्वयन गर्दै संघीयता कार्यान्वयनलाई बलियो पार्न आवश्यक रहेको बताए ।

तीनै तहको समन्वय र सहकार्यबाट संघीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै मन्त्री दाहालले समितिका निर्णयहरू कार्यान्वयन मार्फत नागरिकलाई सेवा छरितो पार्ने पार्न सकिने समेत बताए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतमा भएका निर्णयहरुको समीक्षा गर्दै आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू भएको बताए । बैठकमा संघ र प्रदेशका मन्त्री, सचिवका साथै स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.