News Summary
Generated by OK AI. Editorially reviewed.
साउन शुक्ल चतुर्दशीका दिनबाट धनगढीस्थित बडिमालिकामा धार्मिक यात्रा सुरु भएको छ।
सरकारी पूजा टोली सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलको नेतृत्वमा मंगलबारबाट बडिमालिकातर्फ प्रस्थान गरेको छ।
धार्मिक यात्रामा सुरक्षा र स्वास्थ्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।
२० साउन, धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा धार्मिक यात्रा सुरु भएको छ । साउन शुक्ल चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलाका लागि मंगलबारदेखि धार्मिक यात्रा सुरु भएको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रा पूरा गरेर बडिमालिका मन्दिर पुग्नु पर्ने मान्यताअनुसार मंगलबारदेखि बडिमालिका धार्मिक यात्रा सुरु भएको बताए ।
बडिमालिका धार्मिक यात्राका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलको नेतृत्वमा सरकारी पूजा टोलीको बिदइ गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सलामीसहित पूजा टोलीलाई बिदाइ गरिएको छ । सरकारी पूजा टोलीमा पञ्चकन्या, जमरा र कलश बोकेका महिला टोली र विद्यार्थी सहभागी छन् ।
धार्मिक यात्राका लागि बडिमालिका नगरपालिकाले वडा नम्बर ४ का अध्यक्ष अर्जुन नाथको नेतृत्वमा टोली नै पठाएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले स्थानीय झाँकी, बाजागाजा र पूजा सामग्रीसहित पूजा टोली बडिमालिकातर्फ प्रस्थान गरेको बताए ।
बडिमालिका दर्शनका लागि आउने यात्रुलाई मध्यनजर गर्दै बसोबासको प्रबन्धका लागि समेत नगरपालिकाले सहजीकरण गरिरहेको छ भने एम्बुलेन्सको व्यवस्थासहित स्वास्थ्य शिविरको व्यवस्था पनि गरिएको छ ।
मंगलबार सदरमुकाम मार्तडीबाट प्रस्थान गरेको सरकारी पूजा टोली र दर्शनार्थी पहिलो दिन सोता पाटन गएर बस्ने चलन छ ।
दोस्रो दिन त्रिवेणी धाममा बस्ने र तेस्रो दिनको बिहानै त्यहाँ नुहाइधुवाइ गरेर बडिमालिका दर्शनका लागि पुग्नुपर्ने हुन्छ । बडिमालिकाको दर्शन गरेपछि जनै पूर्णिमाको दिन नाटेश्वरीमा विशेष पूजा लाग्ने गर्दछ ।
बडिमालिकाको दर्शनका लागि सुदूरपश्चिमसहित छिमेकी कर्णाली प्रदेश र देशका विभिन्न ठाउँबाट दर्शनार्थी बडिमालिका आउने गरेका छन् । साउनमा बडिमालिकामा लाग्ने धार्मिक मेलाका लागि बाजुरा र कालीकोट जिल्लाबाट सरकारी पूजा टोली पठाउने प्रचलन रहेको थियो ।
तर यो वर्ष भने अन्य जिल्लाले समेत सरकारी पूजा टोली बडिमालिका पठाएका छन् । कार्यपालिका बैठकबाट निर्णय गर्दै धनगढी उपमहानगरपालिकाले समेत बडिमालिकामा सरकारी पूजा टोली पठाएको छ । उपप्रमुख कन्दकला रानाको नेतृत्वमा सरकारी पूजा टोली बडिमालिका गएको छ ।
उपप्रमुख रानाले धार्मिक पर्यटन प्रवर्द्धन र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको महिमा बढाउन बडिमालिकामा औपचारिक पूजा टोली पठाउने अभ्यासको थालनी गरिएको बताइन् ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपाली सेनाले बडिमालिका मन्दिर निर्माण सम्पन्न गरेपछि र प्रचारप्रचारका कारण यो वर्ष बडिमालिका दर्शन गर्न आउनेहरूको घुइँचो लागेको बताए ।
उनले वैशाखदेखि नै दर्शनार्थी आउने क्रम जारी रहेको बताउँदै २३ साउनको धार्मिक मेलामा ठूलो संख्यामा मानिस हुने अनुमान गरिएको बताए । संख्याको हिसाबले यो वर्ष रेकर्ड ब्रेक हुने उनी बताउँछन् । दर्शनार्थीहरूको सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरेर तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ पाध्याले बताए ।
बडिमालिकामा हुने मेलाको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटको समन्वयमा आवश्यक रणनीति बनाइएको उनले बताए । यात्रुलाई हुनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै दुई ठाउँमा नि:शुल्क स्वास्थ्य शिविर पनि चलाइएको उनले बताए । बडिमालिकाको इतिहास र महत्त्व
बडिमालिका आदिमकालमा स्थापना भएको मन्दिर हो । स्कन्दपुराणको मानसखण्डमा सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थालेको उल्लेख छ ।
भ्रमणका क्रममा ठाउँ-ठाउँमा सत्यदेवीका अंग पतन भएर खस्न थालेका थिए । सत्यदेवीका अंग जहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भएको जनविश्वास रहेको छ । बाजुराको मल्लागिरी पर्वत (बडी मालिका) मा उनको बायाँ कुम पतन भएको किम्वदन्ती छ । त्यसपछि मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको थियो ।
बडिमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापा बडिमालिका देवीको पहिलो देउरो (मन्दिर) निर्माण बाजुराका दीपराज छत्यालले गरेको बताउँछन् । शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुंगा बोकाएर बडिमालिकामा मन्दिर निर्माण गराएका थिए ।
शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि २०३६/३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको बताइन्छ ।
आदिमकालदेखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन छँटाहरू, सुगन्धित बगैँचा, विशाल पाटन (फाँट) हरू र जैविक विविधताको खजानाका रूपमा रहेको छ । बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।
बडिमालिकालाई नेपाली सेनाको इष्टदेवीको रुपमा समेत लिइन्छ । अमरसिंह थापाकै समयदेखि बडिमालिकासँग नेपाली सेनाको साइनो थियो ।
पुजारी नेत्रराज पाध्यायका अनुसार २०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा रहेको थियो । तर उक्त दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले २०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथीमा पूजाआजा गर्ने परम्पराको थालनी गरिएको थियो ।
त्यो बेला राजा, खप्तड स्वामी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडिमालिका पुग्ने गर्थे । तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ ।
पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दिपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री आउने गरेका छन् ।












