News Summary
Generated by OK AI. Editorially reviewed.
नेपाल राष्ट्रिय पुस्तकालयको अस्थायी भवनमा दैनिक २०० विद्यार्थी लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स लगायत परीक्षाको तयारीका लागि अध्ययन गर्छन्।
२०७८ सालदेखि सानोठिमीमा अस्थायी प्रि-फ्याब भवनमा सञ्चालन भइरहेको पुस्तकालयको पक्की भवन निर्माणका लागि टेन्डर भइसकेको छ।
पुस्तकालयमा एक लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिका छन् र अध्ययनका लागि कुनै शुल्क लाग्दैन।
२१ साउन, काठमाडौं । बिहानको १० बज्यो । सानोठिमीस्थित नेपाल राष्ट्रिय पुस्तकालयको ढोका खुल्यो । पुस्तकालय बाहिर लाइनमा बसेका छन्, विद्यार्थीहरू । कर्मचारीसँगै विद्यार्थी पनि लामबद्ध भएर भित्र छिरे ।
आफ्नै पाठ्यसामग्री बोकेर आएका उनीहरू विद्यालय वा क्याम्पसमा जसरी पढ्न भने आएका होइनन् । लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स, कलेजको परीक्षा लगायतको तयारी गर्न आएका हुन् । पुस्तकालय प्रमुख प्रदीप भट्टराई भन्छन्, ‘हामीसँगै आउनुहुन्छ । हामीसँगै जानुहुन्छ ।’
प्रि-फ्याबबाट बनेको पुस्तकालयको अस्थायी भवन जहाँ लाइब्रेरी, बाललाइब्रेरी, पत्रपत्रिरकाको कक्ष र अध्ययन कक्ष छ । अध्ययन कक्षमा भरिभराउ विद्यार्थी छन् । तर कसैको आवाज सुनिँदैन । उनीहरू सामूहिक अध्ययनमा मग्न छन् ।
१० बजे नै लाइन लाग्न पुग्छन् विद्यार्थी
अध्ययन कक्षमा थिए, बाराबाट पढ्नका लागि काठमाडौं आएका रामजनमप्रसाद चौधरी । हाल काठमाडौंको पेप्सीकोलामा डेरा गरेर बसेका उनी स्नातक तहको चौथो वर्ष अध्ययनरत छन् । एनसीसी कलेज बढ्ने उनी सँगसँगै लोकसेवाको तयारी पनि गरिरहेका छन् ।
लोकसेवाको तयारीका लागि रामजनम बिहान साढे १० बजे नै पेप्सीकोलाबाट सानोठिमी पुस्तकालय पुग्छन् ।
‘यहाँको वातवरण राम्रो छ । आफूसँग नभएका पुस्तकहरू पनि पढ्न पाइन्छ । कोठामा बसेर पढ्न अल्छी लाग्छ । यहाँ साथीहरूसँग नबुझेको कुरा छलफल गरेर सिक्न पाइन्छ,’ उनले पुस्तकालय आउनुको कारण सुनाए । उनी दिनभर पुस्तकालयको अध्ययन कक्षमा बसेर लोकसेवाको तयारी गर्छन् ।
जुम्लाकी श्रृष्टि हमाल हाल गठ्ठाघरमा बस्छिन् । त्रिचन्द्र कलेजमा स्नातक तहमा अध्ययनरत उनी परराष्ट्रको तयारी गरिरहेकी छिन् । तीन महिनायता दैनिक रूपमा पुस्तकालयमा बसेर पढिरहेकी श्रृष्टि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अध्ययन गर्छिन् । कोठामा बसेर पढ्दा ध्यान जान नसकेपछि पुस्तकालय जान थालेको उनी बताउँछिन् । ‘यहाँ बसेर पढ्दा राम्रोसँग बुझिन्छ । कलेजको तयारी पनि यहीँ गर्छु । लोकसेवाको तयारी पनि यहीँ गर्दैछु,’ उनले भनिन् ।
पुस्तकालयमा अध्ययनका लागि पुगेका विश्वजित महतो ।
धनुषाबाट आएका विद्यार्थी विश्वजित महतो कागेश्वरी मनोहरा नगरपालिका-९ मा बस्छन् । शाखा अधिकृतको तयारी गर्न काठमाडौं आएका उनी पुस्तकालय धाउन थालेको एक महिना भयो । उनी अध्ययन कक्षमा होइन, लाइब्रेरी कक्षमा बसेर पढिरहेका थिए । हातमा गीता पुस्तक थियो । ‘गीतामा के रहेछ भनेर पढ्न थालेको हुँ,’ उनले भने, ‘शान्त वातवरण भएकाले यहाँ आएको हुँ ।’
दैनिक २०० विद्यार्थी पुग्छन्
यी विद्यार्थी त प्रतिनिधि मात्र हुन् । राष्ट्रिय पुस्तकालयको अध्ययन कक्षमा पढ्न दैनिक २०० हाराहारीमा विद्यार्थी आउँछन् । कुनै दिन त बस्ने ठाउँ नभएर पुस्तकालय प्रशासनले फर्काउनेसम्म गरेको छ । तर विद्यार्थीहरू चिसो भुईंमै बसेर भए पनि पढ्न राजी हुन्छन् ।
अध्ययन कक्षमा विद्यार्थीहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बसेर पढ्छन् । यसरी पुस्तकालयमा बसेर पढ्नेमा दूरदराजबाट आएका विद्यार्थी पनि छन् । नेपाल राष्ट्रिय पुस्तकालयको अध्ययन कक्ष अहिले विद्यार्थीहरूको प्रिय गन्तव्य बनेको छ ।
आफ्नै पाठ्यसामग्री बोकेर आउने विद्यार्थी लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स, कलेजको परीक्षा लगायतको तयारी गरिरहेका हुन्छन् ।
पुस्तकालय युवाहरूको पढ्ने थलोमा परिणत हुँदै गएको यहाँको दृश्यले देखाउँछ । ‘पहिले डेढ सयजति विद्यार्थी मात्र आउँथे । अहिले दैनिक २०० को हाराहारीमा विद्यार्थी आउँछन् । बस्ने ठाउँ नहुँदा भुईँमासमेत बसेर पढ्छन्,’ प्रमुख भट्टराईले भने ।
आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार विद्यार्थीले पुस्तकालय आएर अध्ययन गरेको पुस्तकालय प्रशासनले जनाएको छ । पुस्तकालय चाडपर्व सार्वजनिक बिदामा भने बन्द हुन्छ । पहिलो शनिबार पनि खुल्ने गरेको थियो । तर बजेटको अभावले भने हाल बन्द गरिएको छ ।
केही समयअघिसम्म बिहान र साँझको समयमा पनि पुस्तकालय खोल्ने गरिएको थियो । तर अचेल कार्यालय समयमा मात्र खोल्ने गरिएको छ । ‘बजेटको अभावले हो । खुलायो भने त विद्यार्थीहरू जतिबेला पनि आउँछन्,’ पुस्तकालय प्रमुख भट्टराईले भने, ‘बिहान खोल्दा ७ बजे नै विद्यार्थी लाइन बस्न आइपुग्थे ।’
पढ्ने ठाउँ खोजिरहेका छन् युवा
केही समयअघिको कुरा हो । एक विद्यार्थी पुस्तकालय प्रमुख भट्टराईको कार्यकक्षमा आएर सोधे- सर यहाँ प्याक हुन्छ हो ? ‘ती विद्यार्थी कीर्तिपुर बस्ने रहेछन् । पुस्तकालयमा पढ्ने ठाउँ मिलेमा उनी यतै डेरा सर्न खोजेका रहेछन्,’ पुस्तकालय प्रमुख भट्टराईले भने, ‘विद्यार्थीहरूले पढ्ने ठाउँ खोजिरहेका छन् ।’
पुस्तकालय प्रमुख प्रदीप भट्टराई ।
शान्त वातवरण भएकाले विद्यार्थीको रोजाइमा पुस्तकालय परेको हो । ‘पढ्नको लागि अहिलेको पुस्ताले शान्त वातावरण खोजेको हो । घरमा बस्न अल्छी लाग्छ । अरूले पढेको देखेर पनि पढ्न मन लाग्ने रहेछ,’ भट्टराईले भने ।
तर, यी विद्यार्थीको पढाइ भने बाध्यताको हो । ‘सरकारी सेवामा नाम निकाल्न बाध्यताले पढ्न आएका हुन् । यद्यपि, पुस्तकालयमा जानुपर्छ भन्ने चेतको विकास भएको छ,’ भट्टराईले भने ।
पठन संस्कृतिको विकास
अध्ययन कक्षमा आफ्नो पुस्तक र ल्यापटप पनि लैजाने सुविधा छ । तर पुस्तकालय कक्षमा भने बाहिरको पुस्तक लैजान मिल्दैन । पुस्तकालयमा भएको किताब मात्र पढ्न मिल्छ । विद्यार्थीहरू आफैं स्वनियन्त्रणमा बसेर पढ्ने भएकाले अहिलेसम्म पुस्तक हराउने समस्या देखिएको छैन । ‘विद्यार्थीहरू स्वनियन्त्रणमा पढ्छन्। कोही हल्ला गर्दैन। सीसीटीभीबाट निगरानी पनि गरिरहेका हुन्छौं,’ उनले भने ।
अध्ययन कक्षबाट छिरेपछि अर्को कोठामा पुस्तकालयको किताबैकिताब छ । एक लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरू छन् । तर त्यो कोठामा भने दुई-चारजना मात्र विद्यार्थीहरू छन् ।
पुस्तकालयमा ८० हजार पुस्तकको विवरण अनलाइनमा राखिएको छ । आफूले पढ्न चाहेको पुस्तक छ/छैन हेरेर पनि पुस्तकालयमा अध्ययनको लागि जान सकिन्छ । २ हजार पुस्तक मात्र ई-लाइब्रेरीमा पढ्ने व्यवस्था मिलाइएको छ । यहाँ पढ्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
थेसिसदेखि संस्कृतको काव्यसम्म
त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्टदेखि पुरस्कृत भएकासम्मको थेसिस पनि यो पुस्तकालयमा राखिएको छ । ‘कसैले थेसिसको अध्ययन गर्न चाहेमा त्यो पनि अध्ययन गर्न दिने गरेका छौँ,’ प्रमुख भट्टराईले भने । पुस्तकालयमा पत्रपत्रिकाको कक्ष पनि छ । जहाँ राष्ट्रिय दैनिक पत्रिकाहरू राखिएको छ । ‘पत्रिकामा कहिले के छापिएको थियो । पत्रिकाको अध्ययन गर्न चाहेमा त्यो सुविधा पनि छ,’ भट्टराईले भने । संस्कृतका महत्त्वपूर्ण पुस्तकहरू पनि यो पुस्तकालयमा छ ।
बाल पुस्तकालय : सानैदखि पठन संस्कार
वरिपरि गुडियाहरू छन् । स-साना कुर्सीहरू राखिएको छ । कलिला बालबालिकालाई आकर्षित गर्न यी सामग्री राखिएको हो । बालबालिकाले पढ्न सक्ने पुस्तक पनि राखिएको छ ।
‘विद्यालय बन्द भएको समयमा अभिभावकले आफ्ना बच्चालाई पुस्तकालयमा ल्याउनुहुन्छ,’ भट्टराईले भने, ‘सानैदेखि पढ्ने बानीको विकास गर्न बाल पुस्तकालय कक्ष बनाएका हौं ।’
यो कक्ष बालमैत्री बनाइएको छ । प्रमुख भट्टराईका अनुसार पुस्तकालयको अवलोकनका लागि विद्यालयहरूले विद्यार्थीलाई ल्याउने गरेका छन् ।
पुनर्जीवन पाएको पुस्तकालय
पुस्तकालयको बोर्डमा लेखिएको छ- नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवन, हाल मुकाम- सानोठिमी । यो पुस्तकालयको आफ्नो जमिन होइन । पुरानो इतिहास बोकेको पुस्तकालयले समयसँगै काठमाडौं उपत्यका परिक्रमा गरिरहेको छ ।
यो पुस्तकालय नेपाल सरकारको केन्द्रीय स्तरको हो । हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा छ । तत्कालीन राजगुरु स्वर्गीय श्री हेमराज पाण्डेको निजी संग्रह ३ लाख भारतीय रूपैयाँमा खरिद गरेर सिंहदरबारस्थित केन्द्रीय सचिवालय पुस्तकालयमा रहेका मौजुदा पुस्तकहरू समेत मिलाएर नेपाल सरकारले २९ पुस २०१३ मा सिंहदरबार परिसरको सिक्री ढोकामा नेपाल राष्ट्रिय पुस्तकालय स्थापना गरिएको थियो ।
२०१८ सालतिर यस पुस्तकालयललाई सिंहदरबारबाट हरिहरभवनस्थित शंकर भवनको पहिलो तलाको दक्षिणी भागमा स्थानान्तरण गरियो ।
तर, १२ वैशाख २०७२ को भूकम्पले हरिहरभवन क्षतिग्रस्त भयो । भवन क्षतिग्रस्त भएपछि पुस्तकहरूलाई बोरामा राखियो ।
२०७८ सालदेखि सानोठिमीमा अस्थायी प्रि-फ्याब भवन बनाएर पुस्तकालयको स्वरूपमा ल्याइएको हो । हालको भवन पनि टिनको छानो भएको अस्थायी संरचना हो । ‘पानी चुहिन्छ । किताब जोगाउन मुस्किल पर्छ,’ प्रमुख भट्टराईले भने ।
जमलस्थित पुस्तकालयको जग्गामा पक्की भवन बनाउने योजना अगाडि बढेको छ । ‘टेन्डर भएको छ । त्यसपछि प्रक्रिया अगाडि बढेको छैन,’ भट्टराईले भने । पुस्तकालयमा हाल १५ जना कर्मचारी छन् ।