News Summary
Generated by OK AI. Editorially reviewed.
नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे विषय विज्ञ तथा सम्पादकहरूसँग अन्तरक्रिया गरेको छ।
कार्यक्रममा सहभागीहरूले विधेयक नियन्त्रणमुखी नभई संयोजनकारी संयन्त्र बन्नुपर्नेमा जोड दिएका छन्।
सोसाइटीले विधेयकमा आवश्यक संशोधनको माग गर्दै सरकार समक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको छ।
२१ साउन, काठमाडौं । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे विषय विज्ञ तथा सम्पादकहरूसँग अन्तरक्रिया गरेको छ ।
सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षता र उपाध्यक्ष धर्मराज भुसालको संयोजनमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा वक्ताहरूले यथास्थितिमा विधेयक जारी गर्नु नहुनेमा जोड दिएका छन् ।
काउन्सिल नियन्त्रणमुखी नभई मिडिया सञ्चालक, श्रमजीवी पत्रकार तथा सरोकारवालाहरूबीचको उच्चस्तरीय संयोजनकारी संयन्त्र बन्नुपर्नेमा उनीहरूको जोड छ ।
कार्यक्रममा सहभागी विज्ञ, सम्पादक तथा मिडिया सञ्चालकहरूले प्रस्तावित मिडिया काउन्सिल विधेयकले मिडियाको समग्र हित र गरिमा बढाउनेभन्दा पनि नियन्त्रणमुखी चरित्र देखाएको भन्दै आलोचना गरेका सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जानकारी दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विधेयकका विविध पक्षबारे धारणा राखेका थिए ।
त्यस्तै, सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त तथा दैनिक पत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंलगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।
महासचिव त्रिपाठीका अनुसार, सोसाइटीले सरोकारवालाहरूसँग थप परामर्श गर्दै विधेयकमा आवश्यक संशोधनको माग गर्न सरकार समक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको छ ।













