‘उत्तराखण्डको घटनास्थल पुग्न हेलिकप्टर नै प्रयोग गर्नुपर्छ, कूटनीतिक पहल गरिरहेका छौं’

साउन २३, २०८२
Uttarakhand Flash Flood Photo AP by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

भारतको उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीहरूको खोजीका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको छ।
दिल्लीस्थित नेपाली राजदूतावासले स्थानीय प्रशासनसँग सम्पर्क गरी उद्धार कार्य र घटनास्थलको अवस्था बुझ्न प्रयास गरिरहेको जनाएको छ।
बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या छ ।

भारतको उत्तराखण्डमा गएको पहिरोमा परि नेपालीहरु पनि बेपत्ता भएपछि नेपाल सरकारले खोजीका लागि कूटनीतिक पहल गरिरहेको छ । हालसम्म १७  जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएपछि दिल्लीस्थित नेपाली राजदूतावासले भारतको स्थानीय प्रशासनमा समेत सम्पर्क गरी जानकारी लिइरहेको छ  ।

अहिलेसम्मको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावासका डीसीएम डा. सुरेन्द्र थापाको भनाइ जस्ताको तस्तै :

उत्तराखण्डमा भएको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षतिबारे घटना भएदेखि नै हामी अलर्टमा छौं । स्थानीय प्रशासनहरुमा हामीले कुरा गरिरहेका छौं । अहिलेसम्मको जानकारीअनुसार गढवालमा बर्दियाका ५ जना हराइरहेको भन्ने जानकारीसहितको विवरण त्यहाँको प्रहरीले पठाएको छ ।

उत्तरकाशीको धराली बजारमा गत अगस्ट ४ मा भएको ‘क्लाउड ब्रस्ट’ ले त्यहाँका धेरै घरहरु बगाएको छ । त्यहाँ अझै पनि उद्धार कार्य जारी रहेको जानकारी आएको छ ।

हालसम्म ३७२ जनाको जीवितै उद्धार गरेको र ५ जनाको मृत्यु भएको जानकारी हामीसमक्ष आएको छ । मृतकहरुमध्ये कोही नेपाली नरहेको जानकारी पाएका छौं ।

त्यो होटलहरु भएको क्षेत्र भएकाले अन्य धेरै मानिसहरु त्यहाँ परेको आशंका छ । ४० देखि ५० फिटसम्म लेदो जमेको छ । त्यो लेदोले होटलहरु पुरेकाले उद्धार गर्न समस्या परेको छ ।

हामीले पनि त्यहाँको अवस्था बुझ्न जाने कोसिस गरिरहेका छौं ।

घटनास्थल सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढा छ । बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या छ भन्ने जानकारी आएकाले हामी जान सकिरहेका छैनौं ।

त्यहाँ पुग्न हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने बाध्यता छ । भारत सरकारसँग हामीले पहल गरिरहेका छौं । तर हामी नेपालीहरुको यकिन विवरण लिने र उद्धारका लागि आवश्यक सम्पूर्ण पहल गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published.