बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

साउन २३, २०८२
indra baniya 2 by Ditible

२३ साउन, हेटाैंडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् ।

२० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिने भएका हुन् ।

बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले सभामुख भुवनकुमार पाठकले २७ गते दिउँसाे ४ बजे प्रदेशसभा बैठक आह्वान गरेकाे प्रदेशसभा सचिवालयका सभा सचिव रामकुमार पाैडेलले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बानियाँ नेपाली कांग्रेसकाे ३७ र नेकपा एमालेकाे २७ गरी ६४ सांसदकाे समर्थनमा १९ साउनमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले २० साउनमा मुख्यमन्त्री नियुक्त गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदकाे समर्थन आवश्यक पर्छ ।

बानियाँलाई मुख्यमन्त्रीमा कायम रहन विश्वासकाे मतमा ५६ जना सांसदकाे समर्थन आवश्यक पर्दछ । बानियाँले विश्वासकाे मत लिएपछि सरकार विस्तार गर्ने उनी निकट सांसदले जानकारी दिए ।

बानियाँले आफूसँगै एमालेका ६ जना र कांग्रेसका २ जनालाई २० साउनमा मन्त्री नियुक्त गरेका थिए ।  बानियाँले आफ्नै दल कांग्रेसबाट थप ६ सांसदलाई मन्त्री नियुक्त गर्नुपर्नेछ । मन्त्री बन्न इच्छुक अधिक भएपछि बानियाँलाई मन्त्रिपरिषद्‌ विस्तार गर्न सकस परिरहेकाे छ ।

२० साउनमा बहादुर पक्षका सांसदलाई मन्त्री नियुक्त नगरेकाे भन्दै कांग्रेसभित्र बहादुर पक्ष असन्तुष्ट छ ।

बहादुरले १४ साउनमा मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका गाेविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई बानियाँले पहिलाे चरणमै मन्त्री बनाउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवासँग भएकाे सहमति पालना नगरेकाे भन्दै लामाले असन्तुष्टि पाेखेका थिए ।

Leave a Reply

Your email address will not be published.