काठमाडाैं । उरुग्वेका स्ट्राइकर डार्विन नुनेजले साउदी प्रो लिगको बलियो टोली अल-हिलालसँग तीन वर्षको सम्झौता गरेका छन्।
२६ वर्षीय नुनेज इंग्लिस क्लब लिभरपुलबाट ४६.३ मिलियन युराेमा अल-हिलाल पुगेका हुन् । सन् २०२२ को जुनमा बेनफिकाबाट प्रारम्भिक ६ करोड ४० लाख युराेमा अनुबन्धित नुनेजलाई लिभरपुलले नयाँ युगको नेतृत्वकर्ताको रूपमा ल्याएको थियो। उनको शक्तियुक्त र अप्रत्याशित खेल शैलीका कारण जेमी काराघेरले उनलाई ‘क्याप्टेन केओस’ उपनाम दिएका थिए। तर, यही अप्रत्याशितता उनको आकर्षण र कमजोरी दुवै बन्यो।
लिभरपुलमा १४३ खेलमा नुनेजले ४० गोल गरे। उनले गत सिजनको लिग उपाधि जित्ने क्रममा केवल आठ प्रिमियर लिग खेलहरूमा मात्रै सुरुवाती ११ मा मौका पाए । तीन सिजनमा, नुनेजले ९५ खेलमा २५ प्रिमियर लिग गोल गरे, जसमध्ये ४६ खेलमा उनी सब्सटिच्युटका रूपमा आएका थिए। उनको पहिलो सिजनमा सबै प्रतियोगितामा १५ गोल, दोस्रोमा १८ गोल र स्लटको नेतृत्वमा रहेको अन्तिम सिजनमा ४७ खेलमा जम्मा ७ गोल मात्र गरे।
नुनेजको बहिर्गमनपछि लिभरपुलले न्युकासलका स्ट्राइकर अलेक्जेन्डर इसाकलाई अनुबन्ध गर्ने प्रयास गर्ने अनुमान गरिएको छ। यद्यपि, न्युकासलले यसअघि नै इसाकका लागि आएको ११ करोड युराेको प्रस्ताव अस्वीकार गरिसकेको छ।













