काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिभाशाली बलर ललितनारायण राजवंशीलाई मातृशोक परेको छ ।
ललितकी आमा सरला (शुभकुमारी) राजवंशीको आइतबार बिहान विराटनगर महानगरपालिका–१४ जतुवास्थित आफ्नै निवासमा निधन भएको हो । ६३ वर्षीया सरलाको लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी रोगका कारण स्वास्थ्य अवस्था नाजुक रहेको थियो ।
नियमित औषधि र उपचारका कारण उनी दैनिक जीवनमा सक्रिय रहँदै आएकी थिइन् तर, पछिल्ला केही सातायता उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो । परिवारका सदस्यका अनुसार शनिबार राति खाना र औषधि खाएर सुतेकी सरलालाई आइतबार बिहान उनकी छोरी सुमनले उठाउन जाँदा नउठेको र नजिकै गएर हेर्दा उनको निधन भएको पाइएको थियो ।
निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका ललित तत्काल विराटनगर फर्किएका छन् । राजवंशी परिवारले आजै विराटनगर नजिकैको सिंघीया खोलामा हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।
सरला राजवंशीको परिवारमा श्रीमान् जयनारायण राजवंशी, जेठा छोरा युगलकिशोर, माइला छोरा रामकिशोर, कान्छा छोरा ललितनारायण र छोरी सुमन राजवंशी रहेका छन् ।













