News Summary
Generated by OK AI. Editorially reviewed.
दैलेखमा १२ वर्षीया बालिकालाई ढुङ्गाले हान्दै लखेटी–लखेटी नियन्त्रणमा लिएर बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पीडित बालिकाको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२५ साउन, सुर्खेत । दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।
तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।
उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिए ।
उनका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ ।
उनीहरूले ती बालिकालाई ढुंगासमेत प्रहार गरेका थिए । ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न नसकेको प्रहरीले जनाएको छ । त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरुले तत्कालै घरमा घटनाबारे जानकारी दिएपछि अभिभावकहरू घटनास्थल पुगेका थिए । बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेका थिए ।
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिए ।
बालिकालाई घटनालगतै उपचारका लागि अस्पताल पुर्याइएको थियो । उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दैलेख प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












