News Summary
Generated by OK AI. Editorially reviewed.
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागार झडपमा मृत्यु भएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
प्रदेश सुरक्षा समितिको बैठकले कारागार सुरक्षा चुस्त बनाउन ११ बुँदे निर्णय गरेको छ र घाइते कैदीबन्दीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ।
बैठकले कारागारमा हेलोजन लाइट, सीसी क्यामेरा जडान र मर्मत सम्भार तत्काल शुरू गर्ने निर्णय गरेको छ र क्षमताअनुसार कैदीबन्दी व्यवस्थापन गर्न कारागार विभागलाई निर्देशन दिएको छ।
२५ साउन, काठमाडौं । कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ ।
आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक कैदीबन्दी चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
बैठकले मृतक कैदीबन्दी चौधरीको परिवारलाई राहत दिनेसँगै कारागारको सुरक्षा व्यवस्था चुस्त बनाउन ११ बुँदे निर्णय गरेको छ ।
साथै झडपमा घाइते भएका कैदीबन्दीहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको छ ।
बैठकले कारागारमा हेलोजन लाइट, सीसी क्यामेरा यथाशीघ्र जडान र कारागारको छानो लगायत आवश्यक मर्मत सम्भारको कार्य प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल शुरू गर्ने निर्णय गरेको छ ।
कारागारका लागि आवश्यक उपकरण तथा साधनहरूको व्यवस्था कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा गर्ने बैठकको निर्णय छ ।
कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको भन्दै आलोचना भएकोमा बैठकले क्षमताअनुसारको कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभाग समन्वय गर्ने बैठकको निर्णय छ ।