मृतकका परिवारले बुझेनन् शव – Online Khabar

साउन २६, २०८२
relative of bharat chaudhary who was killed in kailali karagar jail talking with cdo11 cover by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कैलाली कारागारमा भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको मृत्यु भएको छ।
मृतकका परिवारले हत्यामा संलग्नको पहिचान गरी कारबाही र छोरीलाई नि:शुल्क शिक्षा दिन सरकारसँग माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

२६ साउन, धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ ।

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा हत्या मृत्यु भएको थियो ।

कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि सांघातिक आक्रमण गरेका थिए ।

राति सेती प्रादेशिक अस्पताल पुर्‍याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव परिवारले बुझन् मानेका छैनन् ।

मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

मृतकका भाइ विजय चौधरीले दाजुको मृत्युपछि टुहुरो बनेकी छोरीको नि:शुुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

मृतक भरत चाैधरीकी छोरी।

 ‘प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको सुुनेको छु । तर हामीलाई पैसा भन्दा पनि न्याय चाहिएको छ,’ विजयले भने, ‘उहाँको मृत्युपछि टुहुरो बनेकी छोरीलाई सरकारले नि:शुल्क पढाउनुपर्छ भन्ने हाम्रो माग छ । कारागारभित्र निर्मम रुपमा दाजुको हत्या गर्नेको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

मृतकका भाइ विजय चौधरी र आफन्त।

जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल समेत गरेका छन् । सो क्रममा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।

कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

‘धनगढी उपमहानगरपालिकाले मृतकको छोरीलाई नि:शुल्क पढाउने व्यवस्था मिलाउने भनेको छ । प्रमुख जिल्ला अधिकारीको हैसियतमा मैले पनि पहल गर्छु । विभिन्न संघसंस्थाले सहयोग गर्छन्,’ सीडीओ हमालले मृतक चौधरीका परिवारसँग भने, ‘उहाँलाई कुटपिट गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कानुनबमोजिम कारबाही गछौँ ।’

कैलालीका सीडीओ गोगनबहादुर हमालको कार्यकक्षमा मृतकका परिवार।

मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन् । उनी डेढ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेर गएको परिवारजनले बताएका छन् ।

सीडीओ हमालको प्रतिबद्धतापछि पीडित परिवारले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने भएका छन् ।

मृतकका भाइ विजयले दाजुको हत्या कसले गरेको हो ? भनेर थाहा नभएकाले अहिले अनुसन्धानका लागि जाहेरी दिने बताए । ‘राति आक्रमणमा संलग्न १७/१८ जना छन् भन्ने कुरा आएको छ तर हामीले उहाँहरुलाई चिन्दैनौँ,’ उनले भने, ‘त्यसैले अहिले किटानी जाहेरी नभएर जाहेरी मात्र दिँदैछौ ।’

प्रहरीले पनि मृतकका आफन्तले दिने जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले किटानी जाहेरीका आधारमा कारागारमा भएको घटनाबारे अनुसन्धान गर्ने बताए ।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ ।

कारागारभित्र आफन्त वर्चश्व जमाउने उद्देश्यले कैदीबन्दीका दुई समूहबीचको मनमुटावले शुक्रबार राति भएको झगडाले हिंसात्मक रुप लिएको थियो ।

‘ए’ ब्लकका कैदीबन्दीको आक्रमणबाट ‘बी’ ब्लकमा रहेका भरत चौधरीको मृत्यु हुन पुग्यो भने अन्य ४९ जना घाइते छन् । उनीहरू मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्यको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पताल धनगढीमै उपचार भइरहेको छ ।

घटनापछि कैदीबन्दीहरुले कैलाली कारागारको बन्दीगृह पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । करीब ४० घण्टापछि स्थानीय प्रशासनले आइतबार साँझ पाँच बजे मात्र बन्दीगृह आफ्नो नियन्त्रणमा लिएको थियो ।

४९ जना बाहेक कारागारभित्र रहेका अन्य कैदीबन्दीको अवस्था समान्य रहेको कारागार प्रशासनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.