अविश्वासको मत दिनु अघि नै सहमति जुट्नेमा कांग्रेका बागमती प्रदेशका सांसदहरू विश्वस्त

साउन २६, २०८२
Bahadur Sing Lama and Indra Bahadur Baniya by Ditible

२६ साउन, काठमाडौं। बागमती प्रदेश सभामा नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउने प्रयास भइरहेको छ । मुख्यमन्त्री इन्द्र बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षमा देखिएको तिक्तता अन्त्य गरी सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले जानकारी गराएका छन् ।

पूर्वमुख्यमन्त्री लामाले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षको विचार राखिसकेका छन् । लामासँगै सभापति देउवालाई भेटेका नेताहरुका अनुुसार मिलेर अघि बढ्न देउवाले निर्देशन दिएका थिए ।

२७ साउन (भोलि) मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु अघि नै दुईपक्षमा सहमति जुट्ने प्रदेश सांसदहरुले जानकारी गराएका छन् । पार्टीभित्रको आन्तरिक विषय भएको उल्लेख गर्दै प्रदेश सांसद हरिप्रभाव खड्गीले भनिन्,‘नेताहरुसँग छलफल भइरहेको छ । सायद मिल्छ होला । नमिलिकन त भएन नि ।’

पूर्व मुख्यमन्त्री लामाले नियुक्त गरेका तीन जनालाई मन्त्री बनाउने विषयले दुई पक्षमा तिक्तता उत्पन्न भएको थियो । लामा पक्षधरले उनले नियुक्त गरेर सपथ हुन नपाएका तीन सांसदलाई नवगठित मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने विषयलाई मूल माग बनाएको छ ।

धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । साथै, सरकार सञ्चालनमा आपसी सरसल्लाह अनुसार अघि बढ्नुपर्ने सुनिश्चिता समेत मुख्यमन्त्री बानियाँसँग लामा पक्षले खोजेको छ ।

असन्तुष्ट पक्षले आफ्ना मागहरु सम्बोधन नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने र सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको थियो । लामाले मन्त्री नियुक्त गरेर सपथ लिन नपाएका सांसद गोविन्द लम्सालले आफ्नो समूहका १३ जनाले समूहको नेतृत्वकर्ता लामालाई राजीनामा बुझाएको दाबी गरे ।

मन्त्री बनिसकेकालाई सपथ गराऔं भनिएको तर राजीनामा नै गर्ने चेतावनी नदिइएको प्रदेश सांसद खड्गीले बताइन् । ‘राजीनामा दिने कुरा केही आएको छैन । त्यस्तो कुरा केही भएको छैन । कुरा मिलेन भने विश्वासको मत दिनलाई सोच्नुपर्छ कि भन्ने कुरा मात्र हो ।’ प्रदेश सभामा कांग्रेसका ३७ सांसदमा लामा पक्षका १४ जना छन् ।

सत्ता साझेदार कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई मंगलबार विश्वासको मत दिन व्हिप जारी गरिसकेका छन् । कांग्रेसको संसदीय दलको निर्वाचनमा लामाको पक्षमा मत दिएका एक सांसदले व्हिप जारी भएको हुँदा विश्वासको मत प्रदान गर्ने जानकारी गराए । उनले भने,‘कि कारबाही भोग्न तयार हुनुपर्‍यो । होइन भने पार्टीले व्हिप जारी गरिसकेपछि त्यसको विरुद्धमा लाग्न त भएन नि।’

Leave a Reply

Your email address will not be published.