पीएचडीका लागि एमाले उपाध्यक्ष पाण्डेले निकाले एक नम्बरमा नाम

साउन २७, २०८२
surendra pandey with family by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

एमफील अध्ययनका लागि अन्तवार्तामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई नियमित कक्षामा आउने बारे सोधिएको थियो र उनले सकेसम्म नियमित आउने बताए।
सुरेन्द्र पाण्डेले त्रिवि समाजशास्त्र विभागबाट एमफील उत्तीर्ण गरी सीधै पीएचडीका लागि छनोट भएका छन् र विभाग प्रमुखले उनी नियमित विद्यार्थी भएको उल्लेख गरे।
पाण्डेले एमफिलको थेसिस नगरी सीधै पीएचडी थेसिस गर्न पाउनेछन् भने उनकी श्रीमती पूर्णशोभा चित्रकार पनि पीएचडीका लागि छनोट भएकी छन्।

२७ साउन, काठमाडाैं । त्रिविमा समाजशास्त्रको एमफीलमा अध्ययनका लागि अन्तवार्तामा जाँदा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सोधिएको थियो, ‘तपाईं नियमित कक्षामा आउनु हुन्छ ?’ पाण्डेले भनेका थिए, ‘सकेसम्म नियमित आउँछु ।’

पाण्डे शैक्षिक वर्ष २०८०/०८१ मा समाजशास्त्र विभागमा यसरी भर्ना भएका थिए । अन्तत: उनी एमफिल उत्तीर्ण भए । समाजशास्त्र विभागका प्रमुख पासाङ शेर्पाका अनुसार पाण्डे पीएचडीका लागि पनि सीधै छनोट भएका छन् ।

‘कक्षामा अरुभन्दा रेगुलर आउनु भयो । दिएको असाइन पनि समयमा बुझाउनु भयो । पूर्वमन्त्री भन्ने भान भएन,’ शेर्पाले भने ।

उनको ब्याचमा ३३ जना विद्यार्थी अन्तिम परीक्षामा सहभागी भएका थिए । त्रिविको नियम अनुसार एमफिलबाट सीधै ५ जना पीएचडीमा जान पाउँछन् । तर त्यसका लागि प्रकिया भने पूरा गर्नुपर्ने हुन्छ ।

‘डिन कार्यालयको नियम अनुसार पहिलो दोस्रो सेमेस्टरको नतिजा, पब्लिकेसन र पहिलाको सर्टिफिकेट पनि हेरेर सीधै पीएचडीको लागि छनोट गरिन्छ ।

ग्रेडिङ हेरर पठाउँदा उहाँको नाम पहिलो नम्बरमा निस्केको हो,’ शेर्पाले भने ।

५ जनाले सीधै पीएचडीमा प्रवेश पाउनेमा जम्मा ४ जनाले मात्र आवेदन दिएका थिए । अब पाण्डेले एमफिलको थेसिस नगरी सीधै पीएचडीको थेसिस गर्दा हुन्छ ।

पाण्डेको श्रीमती पूर्णशोभा चित्रकारले पनि पीएचडीका लागि तेस्रो नम्बरमा नाम निकालेकी छिन् । पाण्डे दम्पत्ति एकै वर्ष त्रिविमा भर्ना भएका थिए । त्यसैगरी हेलिना राईले दोस्रो र गोपाल रानाले चौथो नम्बरमा नाम निकालेका छन् ।

Leave a Reply

Your email address will not be published.