News Summary
Generated by OK AI. Editorially reviewed.
प्रहरी महानिरीक्षक दीपक थापा १८ भदौ राति १२ बजेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।
३२औं आईजीपी पदका लागि चन्द्रकुवेर खापुङ एकल प्रतिस्पर्धामा छन् र उनी इमान्दार तथा विवादरहित प्रहरी अधिकृत मानिन्छन्।
प्रहरी नियमावली २०७१ अनुसार अतिरिक्त आईजी र एआईजीहरूबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने व्यवस्था छ।
२७ साउन, काठमाडौं । विद्यमान प्रहरी ऐन र नियमावलीअनुसार वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अबको तीन सातापछि अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी २२ दिनपछि १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाश हुनेछन् । उनी अवकाशमा जाने भएपछि ३२औं आईजीपीका लागि प्रतिस्पर्धाको बाटो खुलेको छ ।
१९ भदौ २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपीमा बढुवा भएका थिए । ६ महिना प्रहरी प्रमुख बनेका उनी अबको २२ दिनपछि बिदा हुँदै गर्दा ३२औं आईजीपी को बन्छन् भन्ने चर्चा सुरु भएको छ ।
३२औं आईजीपीका लागि आफ्नो ब्याचको एकल प्रतिस्पर्धामा छन् चन्द्रकुवेर खापुङ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निर्देशक (एआईजी)को जिम्मेवारीमा रहेका खापुङले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।
तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन लटमा नियुक्ति दिइयो । पहिलो लटमा ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।
दोस्रो लटमा १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने । उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ अहिले एकल प्रतिस्पर्धामा छन् ।
उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा ५६ एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।
हाल प्रशासन विभाग प्रमुखको रूपमा रहेका पोखरेल पनि अवकाशमा जाने निश्चित रहेकाले खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धीको रूपमा छन् ।
आफ्नो ब्याचका एकल प्रतिस्पर्धी खापुङ आईजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहन सक्ने सम्भावना छ । उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।
२ महिना ९ दिनका लागि उनी आईजी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरण शमशेर जबरा प्रहरी प्रमुख बनेका थिए । २८ चैत २०१२ मा आईजीपी बनेका उनी ३१ चैत २०१२ सम्म आईजीपी बनेका थिए ।
अच्युतकृष्ण खरेल भने दुई कार्यालय आईजीपी बनेकोले उनको कार्याकाल लामो मानिन्छ । पहिलोपटक उनी २०५३ फागुनदेखि चैतसम्म गरी ३६ दिन आईजीपी बनेका थिए । दोस्रो पटक २०५४ मंसिरदेखि २०५७ असोजसम्म आईजीपी बनेकाले खरेलको कार्यकाल लामो मानिन्छ ।
अहिलेकै अवस्थामा खापुङ आईजीपी भएर अवकाशमा गएमा उनी प्रहरी इतिहासकै दोस्रो छोटो समयका लागि आईजीपी बन्नेछन् ।
खापुङले डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् ।
खापुङ आईजीपी भएको अवस्थामा एउटै आवेदनमा फारम गरेर इन्स्पेक्टर भएका तीनजना आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण एउटा ब्याचबाट एउटा आईजीपी बन्दै आएकोमा यो टोली भने भाग्यमानी देखिएको छ ।
एउटै आवेदनमा इन्स्पेक्टरको फारम भरे पनि नियुक्ति लिने बेलामा तीन फरक मितिमा नियुक्ति दिएकाले तीनजना आईजीपी बन्ने अवस्था आएको हो ।
सीआईबीमा रहेका खापुङ आफैं भने अहिलेसम्म इमान्दार तथा विवादरहित भएर काम गरिरहेकाले ३२औं आईजीपी बन्नेमा ढुक्क देखिन्छन् ।
‘म आफूलाई लक्की नै ठान्छु । अहिलेसम्म विवादबाट टाढै रहेर काम गरें । प्रहरी निरीक्षकमा प्रवेश गरेर यो ठाउँसम्म आइपुगें,’ उनी भन्छन् ।
यदि नयाँ प्रहरी ऐन आएर ३० वर्षे सेवा अवधि हटेमा पनि खापुङ आईजीपीको प्रतिस्पर्धामै रहन्छन् । ड्राफ्ट भएको नयाँ ऐन ६ महिना थप गर्दै लगिने उल्लेख भएकाले आफ्नो सेवा अवधि थप हुँदा ऐन नै जारी भए पनि आफूलाई फरक नपर्ने उनी बताउँछन् । जसका कारण ऐन जारी गराइहाल्ने वा नगराउने भन्नेमा आफूलाई चासो नरहेको उनी बताउँछन् ।
उनीसँगै अन्य एआईजीपीहरू पनि ३२औं आईजीपीको प्रतिस्पर्धामा लागेका छन् । प्रहरी नियमावलीले नै सबै एआईजीलाई आईजीपीको प्रतिस्पर्धीका रूपमा हेरेकाले अन्य एआईजीपी प्रतिस्पर्धाकै मैदानमा रहेको बुझिन्छ ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एआईजीपी सिद्धिविक्रम शाहदेखि २०५४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएर एआईजीपी भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीसम्म आईजीपीको प्रतिस्पर्धामा छन् ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा लेखिएको छ, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा अतिरिक्त प्रहरी महानिरीक्षकमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ ।’













