काठमाडौं । नेपाल ओलम्पिक कमिटीभित्र उत्पन्न समस्याहरू समाधान गरी आगामी खेलकुद प्रतियोगिताहरूमा नेपालको सहभागिता सुनिश्चित गर्न ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
कमिटीका निवर्तमान तथा मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा उक्त समिति गठन भएको हो।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ वटा खेल संघका अध्यक्ष, महासचिव र पदाधिकारीहरूको संयुक्त भेलाले २०८२ श्रावण २६ गते उक्त समितिको घोषणा गरेको हो। लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको कमिटीका आन्तरिक समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने र ओलम्पिक गतिविधिहरूलाई संस्थागत रूपमा अघि बढाउने समितिको मुख्य उद्देश्य रहेको प्रवक्ता समिर मियाँ अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
तदर्थ समितिले खेलाडीहरूको खेल पाउने अधिकार र उनीहरूको भविष्य सुरक्षित गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाइएको छ। समितिको भावी कार्ययोजना तथा कार्यक्रमहरूका बारेमा छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि जानकारी गराइएको छ।










