कागजी घोषणामै थन्किए औद्योगिक क्षेत्र, प्रगति ‘जिरो’

साउन २८, २०८२
Madhes tarai by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

सरकारले घोषणा गरेका सात औद्योगिक क्षेत्रमध्ये अधिकांश वर्षौंदेखि कागजी घोषणामा सीमित छन् र निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।
चितवन शक्तिखोर औद्योगिक क्षेत्र वन मन्त्रालयको नकारात्मक टिप्पणीका कारण २०७७ देखि रोकिएको छ र स्थानीय विवादले परियोजना अघि बढ्न सकेको छैन।
दमक औद्योगिक क्षेत्र लगानी बोर्ड र चिनियाँ विकासकर्ता कम्पनीबीचको प्रशासनिक उल्झनले अलपत्र परेको छ र परियोजना विकास सम्झौता हुन सकेको छैन।

२७ साउन, काठमाडौं । मुलुकमा ‘औद्योगिक क्रान्ति’ को डिङ हाँक्दै महत्त्वाकांक्षी लक्ष्यसाथ सरकारले घोषणा गरेका ७ औद्योगिक क्षेत्र वर्षौंदेखि कागजी घोषणा र शिलान्यासमै थन्किएका छन् ।

सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको एक दशक पुगिसकेको छ । तर, घोषणा अनुसार ठूला औद्योगिक क्षेत्र स्थापना हुनु त परै जाओस्, तिनीहरूको निर्माण प्रक्रिया समेत सुरु हुन सकेको छैन ।

चितवन शक्तिखोरदेखि कञ्चनपुर दैजीसम्म अर्बौं लगानी र हजारौं रोजगारीको सपना बोकेका यी परियोजना वन मन्त्रालयको असहयोग, कर्मचारीतन्त्रको ढिलासुस्ती र स्थानीय विवादका कारण अलपत्र परेका हुन् ।

१ चैत २०७२ को मन्त्रिपरिषद् बैठकले दमकसहित मकवानपुर मयूरधाप, रुपन्देही मोतीपुर, बाँके नौबस्ता र कञ्चनपुर दैजीमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेको थियो ।

समग्रमा, सरकारले औद्योगिक विकासका लागि सात वटा नयाँ क्षेत्र घोषणा गरे पनि प्रशासनिक निकायबीच समन्वय अभाव, स्पष्ट नीतिको कमी र निर्णय प्रक्रियामा हुने ढिलासुस्तीले गर्दा महत्त्वाकांक्षी योजना कागजमै सीमित हुने जोखिम बढेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली राजनीतिक, आर्थिक, वन तथा वातावरण, स्थानीय अवरोध लगायत कारण औद्योगिक क्षेत्र निर्माणलाई गति दिन नसकिएको बताउँछन् ।

यस्ता छन् कागजी घोषणामै थन्किएका औद्योगिक क्षेत्र

शक्तिखोर औद्योगिक क्षेत्र : वन मन्त्रालयको टिप्पणीमा अड्कियो फाइल

चितवन शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको ९ वर्ष बितिसकेको छ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला ३ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर स्वीकृत गराइ परियोजना अगाडि बढाउने जिम्मेवारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिएको थियो ।

शक्तिखोरमा १ हजार ७ सय ४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको फाइल वन निर्देशनालयको एउटा टिप्पणीका कारण २०७७ सालदेखि रोकिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ओलीका अनुसार डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेपछि रुख कटानको लागत अनुमान स्वीकृतिका लागि डिभिजन वन कार्यालय चितवन हुँदै फाइल बागमती प्रदेशको वन निर्देशनालय पुगेको थियो ।

तर, निर्देशनालयले फाइल सदर गर्नुको सट्टा उल्टै नकारात्मक टिप्पणी लेख्दै प्रक्रिया रोकिदियो ।

‘संघीय सरकारले अगाडि बढाउन चाहेको औद्योगिक क्षेत्रको काम बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयको ७ माघ २०७७ को पत्रले रोकिदिएको अवस्था छ,’ ओलीले भने ।

१ चैत २०७२ को मन्त्रिपरिषद् बैठकले दमकसहित मकवानपुर मयूरधाप, रुपन्देही मोतीपुर, बाँके नौबस्ता र कञ्चनपुर दैजीमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेको थियो ।

प्रस्तावित आद्यौगिक क्षेत्रमा २ लाख ५० हजार रुख कटानको लागत तयार गर्न डिभिजन वन कार्यालय भरतपुरले २४ पुस २०७७ मा लेखेको पत्रको जवाफमा निर्देशनालयले ‘सो क्षेत्र संरक्षण र वन्यजन्तु लगायत जैविक विविधताका लागि अति नै संवेदनशील बासस्थान, करिडोर र वैदिक महत्त्वको पर्यटकीय क्षेत्र भएकाले अन्य संरचना बनाउन पर्यावरणीय हिसाबले सर्वथा अस्वीकार्य भएकोे’ उल्लेख छ ।

उक्त पत्रपछि फाइल अगाडि बढ्न सकेको छैन । ५ वर्ष अवधिमा साना रुख पनि ठूला भइसकेका छन्, जसले गर्दा अब यो परियोजना अघि बढाउन झनै कठिन देखिएको छ । सरकारी कार्यालयहरूबीच नै समन्वय नहुँदा यो औद्योगिक क्षेत्र बनाउने काम अगाडि बढ्न नसकेको हो ।

मोतीपुर औद्योगिक क्षेत्र : घोषणासँगै घर र खोला पनि उपहार

सरकारले १ चैत २०७२ मा रुपन्देही मोतीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणा अनुसार धनीपुर्जा प्राप्त ८ सय १३ बिघा र पुर्जा प्राप्त नभएको १३३.४६ बिघा गरी ९४६.४६ बिघा (६ सय ४१ हेक्टर) को डीपीआर बनाइएको थियो ।

सोही डीपीआर अनुसार बनाउने गरी २१ फागुन २०७७ मा तत्कालीन अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले संयुक्त रूपमा औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

तर, सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको जग्गामा वर्षौंदेखि जोतभोग भएको स्थानीयको खेत, बस्ती, विद्यालय, मठमन्दिर र वन क्षेत्र गरी करिब साढे २ सय बिघासमेत परेको थियो । बस्ती र जोतभोगको जग्गासमेत औद्योगिक क्षेत्रमा पारिएको भन्दै स्थानीयवासिन्दा विरोधमा उत्रिएर काम अघि बढाउन दिएका थिएनन् । स्थानीयले ढुंगामुढा गर्दा शिलान्यास कार्यक्रम नै तनावग्रस्त भएको थियो ।

जोतभोग र बस्ती भएको जग्गामा औद्योगिक क्षेत्र बन्न नदिने भन्दै स्थानीयको आन्दोलन र अवरोधका कारण शिलान्याश भएको पाँच वर्ष र घोषणा भएको १० वर्षसम्म काम अघि नबढेर परियोजना अलपत्र परेपछि धनीपुर्जा प्राप्त ८ सय १३ बिघाको सबै जग्गामा औद्योगिक क्षेत्र बनाउन नसकिने निष्कर्षमा सरकार पुगेको छ ।

२०७३ सालमा जग्गा प्राप्ति भए पनि पूर्ववत् बसोबास र संरचनाका कारण निर्माण अघि बढ्न सकेको छैन । शिलान्यास भइसकेको यो परियोजनामा अहिले विवाद समाधानका लागि करिब २ सय ५० बिघाको सानो क्षेत्रमा काम सुरु गर्ने प्रयास भइरहेको महाप्रबन्धक ओलीले बताए । तर, अझै ईआईएको काम अघि बढेको छैन ।

मयूरधाप औद्योगिक क्षेत्र : कहिले वन, कहिले रेलमार्ग समस्या

हेटौंडाको मयूरधाप औद्योगिक क्षेत्रको कथा पनि उस्तै छ । १ चैत २०७२ मा स्थापना भएको मयूरधाप औद्योगिक क्षेत्रको जग्गामा तारबार लगाउनेभन्दा अरू उल्लेख्य प्रगति हुन सकेको छैन ।

मयूरधाप औद्योगिक क्षेत्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा स्थापना गर्ने निर्णय र उनकै दोस्रो कार्यकालमा शिलान्यास गरिएको थियो । शिलान्यास गरेको ४ वर्ष बितिसक्दा कुनै काम हुन सकेको छैन । १४ फागुन २०७७ मा उद्योगमन्त्री लेखराज भट्टले उक्त औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

१४ असार २०७३ मै भूमि सुधार तथा व्यवस्था मन्त्रालयबाट प्राप्त जग्गाधनी प्रमाण पुर्जा र कित्ताकाट स्रेस्ता अनुसार १ सय ९९ बिघा १७ कट्ठा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा कायम भएको थियो । पछि उक्त जग्गा पर्सा राष्ट्रिय निकुञ्जको बफर जोनमा परेको भन्दै पुर्जा खारेज गरियो ।

औद्योगिक क्षेत्रको दक्षिणतर्फको क्षेत्रफल बफर जोनमा परेका कारण निकुञ्ज, निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राय–सुझावमा औद्योगिक क्षेत्रको ईआईए वन मन्त्रालयबाट बाहिर निस्कन सकेको छैन ।

२८ असार २०७८ मा उद्योग मन्त्रालयमा औद्योगिक क्षेत्रको ईआईए पेस गरिएको थियो । १३ साउन २०७८ मा उद्योग मन्त्रालयले ईआईए स्वीकृतिका लागि वन मन्त्रालय पठाए पनि हालसम्म फाइल मन्त्रालयमै थन्किएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली राजनीतिक, आर्थिक, वन तथा वातावरण, स्थानीय अवरोध लगायत कारण औद्योगिक क्षेत्र निर्माणलाई गति दिन नसकिएको बताउँछन् ।

हेटौंडा उपमहानगरपालिका–१४ मयूरधापस्थित सार्वजनिक जग्गामा आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरक्षणका लागि तारबार लगाएको जग्गा नै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा नभई वन क्षेत्र कायम छ ।

६२ प्लट रहने यसको लागत ७ अर्ब २ करोड रुपैयाँ अनुमान गरिएको थियो । परियोजनाको डीपीआर बनेर ईआईए स्वीकृत हुन बाँकी रहेको हो । औद्योगिक क्षेत्र स्थापनापछि १० हजारले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाउने विश्वास गरिएको वर्षौंदेखि अलपत्र मयूरधाप औद्योगिक निर्माण हुने संकेत अझै देखिँदैन । आजसम्म कुनै प्रगति छैन ।

यसैबीच प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको लाइन समेत यही क्षेत्रमा पर्ने देखिएपछि परियोजना थप जटिल बनेको छ । रेल विभागले औद्योगिक क्षेत्र नै सार्न सहज हुने तर रेलमार्ग सार्न नसकिने जनाएको छ ।

दैजी औद्योेगिक क्षेत्र : घट्दै गयो क्षेत्रफल

१ चैत २०७२ मा कञ्चनपुर दैजी छेलामा मन्त्रिपरिषद् निर्णय अनुसार औद्योगिक क्षेत्र निर्माण घोषणा गरिएको थियो । करिब ३ सय ५५ बिघा क्षेत्रफलमा बन्ने दैजी औद्योगिक क्षेत्रको डिपिआर र ईआईए प्रतिवेदन स्वीकृत भइसकेको छ ।

सुरुमा ३ सय ५४ हेक्टरमा घोषणा भएकोमा डीपीआरमा २ सय ४० हेक्टर र ईआईए स्वीकृत हुँदासम्म १ सय ३६ हेक्टरमा सीमित भएको महाप्रबन्धक ओली बताउँछन् ।

ईआईए प्रतिवेदनमा २५ हजार रुख रहेको उल्लेख भए पनि फिल्डमा गन्दा ५५ हजार भेटिएपछि वन मन्त्रालयले यति धेरै रुख काट्न अनुमति दिन नसकिने भन्दै प्रक्रिया रोकेको थियो ।

पछि २५ हजार रुख पर्ने गरी मात्रै १ सय ३६ हेक्टर क्षेत्रफलको वन क्षेत्र प्रयोग गर्ने गरी प्रक्रिया अघि बढे पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको पत्र नभेटिएको भन्दै वन मन्त्रालयले फेरि फाइल रोकेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको पत्र २०७४ सालमै पठाइएको थियो ।

नौबस्ता औद्योगिक क्षेत्र : विवाद र अतिक्रमण चपेटा

३ सय ३८ बिघा क्षेत्रफलमा फैलिएको बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने घोषणा गरेको ९ वर्ष पूरा भइसकेको छ । निर्माण घोषणाको ५ वर्षपछि शिलान्यास गरिएको उक्त औद्योगिक क्षेत्रको ९ वर्षपछि बल्ल तारबारसँगै सडक निर्माण भएको छ ।

सरकारले २०७२ सालमा नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेर प्रक्रिया अगाडि बढाएको थियो । तर, ९ वर्षपछि मात्र औद्योगिक क्षेत्रको सीमा क्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काइएको छ भने करिब ३ किलोमिटर तारबार र सडक निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ ।

घोषणा हुँदा करिब २ सय ५० घरधुरी अतिक्रमण रहेकोमा हाल ४ सय ५० पुगेको छ । विवादबीच चैत २०८१ मा ५५.६ बिघा क्षेत्रफलमा रहेको बस्ती छुट्याएर बाँकी रहेको करिब २ सय ५० बिघामा तारबार गरी काम अघि बढाउने प्रयास भएको छ ।

औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर छुट्याइएको जग्गामा सुकुमबासीले अतिक्रमण गरेर बनाएका घरटहरा हटाउन नसक्दा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्न नसकेको हो । पटक–पटकको सर्वपक्षीय बैठकपछि सुकुमबासीका लागि औद्योगिक क्षेत्रकै जग्गाबाट छुट्याएर ५५ बिघा जग्गा दिने सहमति भएपछि निर्माणस्थलमा रहेका घरटहरा हटाएर बाटो निर्माण गरिएको हो । यो नै यस औद्योगिक क्षेत्रमा देखिएको प्रगति हो ।

सरकारको ठूलो तामझाम र घोषणा हुँदाहुँदै अधिकांश औद्योगिक क्षेत्र कार्यान्वयन तहमा पुग्न सकेका छैनन् । मन्त्रालयहरूबीचको समन्वय अभाव, अस्पष्ट नीति र स्थानीय विवाद समाधानमा देखिएको उदासीनताले औद्योगिक विकासको राष्ट्रिय लक्ष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

यसअघि ११ फागुन २०७७ मा तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले सुकुमबासीहरूको विरोध र नाराबाजीबीच ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । त्यसको केही समयपछि सरकार परिवर्तन भएसँगै निर्माण कार्य रोकिएको थियो ।

लक्ष्मीपुर औद्योगिक क्षेत्र : छ योजना, छैन प्रगति

११ माघ २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो । दाङ लक्ष्मीपुरमा ५ सय ४९ बिघामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिए पनि आजका दिनसम्म काम अगाडि बढ्न सकेको छैन । लक्ष्मीपुर औद्योगिक क्षेत्र निर्माण घोषणा ‘अन्दाधुन्द पारामा’ भएको महाप्रबन्धक ओलीको भनाइ छ । 

उनका अनुसार क्षेत्रफल कति हो, चार किल्ला कुन हो भन्ने कुनै यकिन नै थिएन । उक्त औद्योगिक क्षेत्रको चार किल्ला यकिन गरी डीपीआर र ईआईएका लागि २ साताअघि मात्रै सूचना निकालिएको छ । तर, सम्पूर्ण जग्गा वन क्षेत्रमा पर्ने भएकाले यसको भविष्य पनि अन्योलमै रहेको महाप्रबन्धक ओली बताउँछन् ।

दमक औद्योगिक क्षेत्र : लगानी बोर्डको अनिर्णयले अलपत्र

सरकारले ठूलो तामझाम साथ सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार निर्माण तथा सञ्चालन हुने गरी झापा दमकमा ठूलो औद्योगिक क्षेत्र निर्माण घोषणा गरेको थियो । घोषणा भएको पनि दशक पुगिसकेको छ  ।

असोज २०७५ को मन्त्रिपरिषद्ले ‘बुट’ (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क’ निर्माण गर्ने निर्णय गरेको थियो । यो परियोजनाको लगानी समेत स्वीकृत भइसकेको छ ।

१७ साउन २०७६ मा लगानी बोर्ड बैठकले उक्त परियोजना निर्माणका लागि ५८ करोड ६१ लाख अमेरिकी डलर (८२ अर्ब ५ करोड ४० लाख रुपैयाँ) बराबर लगानी स्वीकृति गरेको थियो ।

१६ फागुन २०७७ मा शिलान्यास भएको उक्त औद्योगिक क्षेत्र ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा निर्माण हुने भनिएको थियो ।

यो औद्योगिक क्षेत्र लगानी बोर्डको प्रशासनिक ढिलासुस्ती र अनिर्णयका कारण अलपत्र परेको महाप्रबन्धक ओली बताउँछन् ।

उनका अनुसार ६४ अर्ब रुपैयाँभन्दा बढीको चिनियाँ लगानी स्वीकृत भए पनि परियोजना विकास सम्झौता (पीडीए) हुन नसक्दा निर्माण कार्य पूर्णरूपमा रोकिएको छ ।

लगानी बोर्ड र चिनियाँ विकासकर्ता कम्पनीबीचको प्रशासनिक उल्झनले परियोजनाको भविष्य नै अनिश्चित बनेको हो ।

‘लगानी बोर्ड हामीलाई पहिले जग्गाको भाडा सम्झौता गर्न दबाब दिन्छ, तर विकासकर्ता कम्पनीले लगानीको सुरक्षा सुनिश्चित गर्ने पीडीएविना सम्झौता गर्न मानिरहेको छैन,’ उनले भने, ‘हामी दुई निकायको चेपुवामा परेका छौं र बाहिर जनताको गाली हामीले खानुपरेको छ ।’

के हो विवादको जड ?

लगानी बोर्डले पीडीए गर्नुअघि विकासकर्तासँग जग्गाको भाडा सम्झौता हुनुपर्ने अडान राखेको छ । तर, विकासकर्ताले पीडीएविना अर्बौं लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै भाडा सम्झौता गर्न अस्वीकार गरेको छ ।

‘भोलि हामीले जग्गाको भाडा तिर्न थाल्यौं तर पीडीए भएन भने हाम्रो लगानी डुब्छ भन्ने उनीहरूको जायज चिन्ता हो,’ उनले थपे ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बारम्बार पत्राचार गर्दा पनि लगानी बोर्डले स्पष्ट जवाफ नदिएको उनको गुनासो छ ।

‘हामीले बोर्डलाई ‘कि तपाईंहरू पीडीए गर्नुस्, नभए हामी यो परियोजना फिर्ता लिएर अर्को विकासकर्ता खोज्छौं, भनिसकेका छौं,’ महाप्रबन्धक ओलीले भने, ‘तर, बोर्डबाट चीन संलग्न छ भन्नेबाहेक कुनै ठोस जवाफ आउँदैन ।’

दमक औद्योगिक क्षेत्रका लागि २ हजार १ सय बिघा जग्गा घोषणा गरिएको थियो, जसमध्ये करिब १ हजार ७ सय बिघा जग्गा लिमिटेडको नाममा आइसकेको छ । तर, त्यसमध्ये पनि केवल १ हजार ३ सय ३३ बिघा जग्गा मात्रै विवादरहित छ । बाँकी जग्गामा मुआब्जा विवाद र दोहोरो पुर्जाजस्ता समस्या छन् र केही मुद्दा अदालतमा विचाराधीन छन् ।

स्थानीय स्तरमा पनि यसको गहिरो असर परेको छ । लिमिटेडका अनुसार रोजगारी र विकासको आशमा आफ्नो सानो घडेरीसमेत दिएका स्थानीयहरू आज निराश छन् ।

समग्रमा, सरकारको ठूलो तामझाम र घोषणा हुँदाहुँदै अधिकांश औद्योगिक क्षेत्र कार्यान्वयन तहमा पुग्न सकेका छैनन् । मन्त्रालयहरूबीचको समन्वय अभाव, अस्पष्ट नीति र स्थानीय विवाद समाधानमा देखिएको उदासीनताले औद्योगिक विकासको राष्ट्रिय लक्ष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published.