राप्रपाको युवा संगठनमा विवाद के हो ? – Online Khabar

साउन २८, २०८२
RPP Youth Kathmandu by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन विवादका कारण स्थगित भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए भने असन्तुष्ट पक्षले समिति गठन गरेको घोषणा गरेको छ।
असन्तुष्ट पक्षले निर्वाचन समिति एकलौटी र विधानसम्मत नभएको आरोप लगाउँदै नयाँ समिति सहमतिमा गठन गर्न माग गरेको छ।

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन बिथोलिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद भएको छ । अधिवेशनमा हात हालहालको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् । नाराबाजी सुरु भएपछि सम्मेलन बिथिलिएको छ ।

अध्यक्ष लिङ्देनको निर्देशन असन्तुष्ट पक्षले अस्वीकार गर्दै समिति गठन गरेको घोषणा गरेको छ । निर्वाचन समिति एकलौटी बनाएको हुँदा विवाद उत्पन्न भएको असन्तुष्ट पक्षको दाबी छ ।

विधानसम्मत अधिवेशन नभएको आरोप असन्तुष्ट पक्षको छ । काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको असन्तुष्ट पक्षको दाबी छ । निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको संस्थापनइतरको भनाइ छ ।

जिल्ला अधिवेशन विधानसम्मत गर्नुपर्ने महामन्त्री डा. धवलशमशेर राणा पक्षको माग छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधिवत गठन भएका स्थानीय तहका समिति वा अधिवेशन सम्पन्न भएका समिति मात्र कायम गरिनुपर्ने संस्थापनइतर पक्षको माग छ ।

विधिभन्दा बाहिर रहेर गठन भएका वैधानिक समिति विरुद्ध गठन गरिएका समितिलाई मान्यता दिनु नहुने अडान इतरको पक्षको छ ।

सम्बन्धित नगर/प्रदेश/क्षेत्रको पार्टी अध्यक्षको उपस्थितिमा सम्पन्न भएको अधिवेशनलाई मात्रै मान्यता दिनुपर्ने, निर्वाचन कार्यतालिका निर्वाचनभन्दा २४ घण्टा अघि प्रकाशित गर्नुपर्ने र ‘अवैधानिक निर्वाचन समिति’ विघटन गरी नयाँ निर्वाचन समिति सहमतिमा गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।

Leave a Reply

Your email address will not be published.