मुख्यसचिवलाई नैतिकता प्रदर्शन गर्न माओवादी केन्द्रको आग्रह

साउन २८, २०८२
Purna Bhadur Gharti magar samsad by Ditible

फाइल तस्वीर

२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुख्यसचिव एकनारायण अर्याललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ ।

बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले कुलिङ अफ पिरियड प्रकरण स्मरण गर्दै मुख्यसचिव अर्याललाई यस्तो आग्रह गरेका छन् ।

निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियड लागू गर्ने विषयमा सहमति जुटेको थियो । तर, कुलिङ अफ पिरियडको प्रावधान निष्क्रिय हुने भाषा समेत विधेयकमा परेको भनेर प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति नै बनेर अध्ययन भएको छ ।

नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले राजनीतिक र नैतिक रुपमा जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिइसकेका छन् ।

संसदीय छानबिनले परोक्ष रुपमा मुख्यसचिव अर्यालसहितका अन्य सरकारी कर्मचारीलाई समेत कुलिङ अफ पिरियडको सम्बन्धमा भएको गम्भिर त्रुटिमा जिम्मेवार रहेको देखाएको छ । कर्मचारीको हकमा पनि नैतिकता देखिनुपर्ने माओवादी सांसद घर्तीको आग्रह छ ।

‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाले नैतिक जिम्मेवारी स्वीकार्दै सभापति पदबाट राजीनामा दिनुभयो । तर, सोही प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न पदाधिकारीहरूले किन उस्तै नैतिक मानकको पालना गरेनन् ?,’ सांसद घर्तीको प्रश्न छ ।

संविधान र कानुनको अगाडि सबै समान हुने प्रावधानको उल्लंघन हुने व्यवहार नगर्न पनि उच्च पदस्थ कर्मचारीलाई माओवादी सांसद घर्तीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.