शेरधन राई – Online Khabar

साउन २८, २०८२
sherdhan rai uml leader by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपतिबारे पार्टीले गरेको निर्णयलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नहुने बताएका छन्।
राईले पूर्वराष्ट्रपतिबारे निर्णय तिथि र प्रणालीका निम्ति गरिएको र अब थप बहस नगर्न निर्देशन दिए।
उनले विधान महाधिवेशनमा फरक मत आउन सक्ने र नोट अफ डिसेन्टको विषयमा आफूलाई थाहा नभएको उल्लेख गरे।

२८ साउन, धनकुटा । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपतिबारे पार्टीले गरेको निर्णयलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नहुने बताएका छन् ।

धनकुटामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज राईले पूर्वराष्ट्रपतिबारे गरिएको निर्णय तिथि र प्रणालीका निम्ति भएको बताएका छन् ।

‘पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्माननीय राष्ट्रपतिको विषयमा छलफल भयो । पार्टीले लिएको राजनीतिक निर्णय हो’, राईले भने, ‘यो निर्णय थितिको निम्ति, प्रणालीका निम्ति पार्टीले लिएको हो ।’

पूर्वराष्ट्रपतिबारे अब थप छलफल र बहस नगर्न उनले निर्देशन पनि दिए ।

‘अब थप अर्को विषयहरू जोडेर उहाँलाई (विद्या भण्डारी) विवाद र बहसको पात्रमा जोड्ने कुराले पार्टीलाई पनि राम्रो गर्दैन । उहाँलाई पनि राम्रो गर्दैन भन्ने कुरा अपानिमै जारी भइसकेको छ’, उनले भने, ‘त्यसो भएकाले कमिटीहरुमा, बाहिर पनि छलफलको विषय बनाउने, बहसको विषय बनाउने कुराले राम्रो हुँदैन ।’

यद्यपि विधान महाधिवेशनमा भने पार्टी केन्द्रले गरेको निर्णयमा फरक मत आउन सक्ने बताए । त्यहाँ मतहरू आउनु विधि सम्मत हुने पनि उनले बताए । ‘विधान महाधिवेशनमा मतहरू आउन सक्छन् । र, ठाउँ त्यो हो’, राईले भने ।

पूर्वराष्ट्रपति भण्डारीका बारेमा भएको निर्णयमा पदाधिकारी तहबाटै नोट अफ डिसेन्ट लेखिएको सन्दर्भ पनि उल्लेख गरे । ‘..नोट अफ डिसेन्ट आएको भनिएको छ, तर त्यो पनि मलाई थाहा थिएन । त्यो पार्टीभित्र आउने गरी हो कि के हो त्यो पनि थाहा छैन’, उनले भने ।

Leave a Reply

Your email address will not be published.