भूतपूर्व गोर्खा सैनिकका माग पूरा गराउन पहल भइरहेको ब्रिटिश सांसदको आश्वासन

साउन २८, २०८२
kulman ghising talking with london labour partys mp on ex gorkha army by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्रिटिश सांसद एलेक्स बेकरसंग नेपाल-बेलायत सम्बन्ध र ऊर्जा क्षेत्रमा छलफल गरेका छन्।
घिसिङले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न ब्रिटिश सरकारको सहयोगका लागि आग्रह गरेका छन्।
सांसद बेकरले भूतपूर्व गोर्खा सैनिकका माग पूरा गराउन पहल गरिरहेको र जलवायु परिवर्तनको असरबारे चिन्ता व्यक्त गरेकी छन्।

लण्डन । हाल बेलायत भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसंग भेटवार्ता गरेका छन् ।

सत्तारुढ लेबर पार्टीकी सांसद बेकरसंगको भेटवार्तामा नेपाल बेलायतबीचको ऐतिहासिक सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असर र त्यस सम्न्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको पेन्सन विषय, नेपालको वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो ।

घिसिङले जलविद्युत लगायत नेपालको विकासमा निरन्तर सहयोगका लागि बेलायतलाई धन्यवाद दिएका थिए । त्यस्तै उनले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्ली रहेका कारण उत्पन्न चुनौतीसँग जुध्न ब्रिटिश सरकारको सहयोगका लागि आग्रह पनि गरे ।

भेटघाटमा घिसिङले भूतपूर्व गोर्खा सैनिकका समान पेन्सन लगायतका समस्या जतिसक्दो चाडो समाधान गर्न ब्रिटिश सरकारसंग पहल गर्न पनि सांसद बेकारलाई आग्रह गरेका थिए ।

उनले सुशासन, समृद्धि र आशा जगाउन आफूले ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको बताए। उनले ब्रिटिश सांसदलाई थांका उपहार पनि दिएका थिए ।

उक्त भेटघाटमा सांसद बेकरले भूतपूर्व गोर्खा सैनिकका मागहरु पूरा गराउन आफूले आफ्नो ठाउँबाट पहल गरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तनले नेपाल लगायतका मुलुकहरुलाई पुर्‍याइरहेको असरबारे चिन्ता व्यक्त गर्दै एपीपीजीको माध्यमबाट ब्रिटिश सरकारको ध्यानाकर्षण गर्ने बताइन् । उनले बेलायतमा नेपाली डायस्पोराको योगदानको प्रशंसा पनि गरिन् ।

भेटवार्तामा नेपाल-बेलायत गोर्खा मुद्दाका एकजना वार्ताकार सेवानिवृत्त मेजर जुद बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमीला भान ओमेन तामाङ, व्यवसायी एलएन पाण्डे समेत उपस्थित थिए ।

अमेरिकाको दुई साता लामो भ्रमण सकेर बेलायत आइ पुगेका घिसिङसंग एनआरएनए युकेका दुवै समूहले अन्तरक्रिया गर्न लागेका छन् । उनी २४ अगष्टमा तमु धीं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा पनि सहभागी हुनेछन् ।

यस अघि अमेरिकामा रहँदा उनले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए ।

न्यूयोर्कमा उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले ‘ग्लोबल हिरो अवार्ड’ ले सम्मान गरेको थियो । उनले न्यूयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए ।

त्यस्तै उनले बोस्टनमा हार्वर्ड विश्वविद्यालय तथा एमआइटीमा आबद्ध नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.