News Summary
Generated by OK AI. Editorially reviewed.
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।
कांग्रेसले खतिवडाको राजीनामापछि उक्त समिति सभापति पदमा नयाँ व्यक्ति पठाउने विषयमा अनौपचारिक छलफल सुरु गरेको छ।
सभापतिमा कांग्रेसका दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत मध्येबाट एक जनालाई चयन गर्ने तयारी भइरहेको छ।
२९ साउन, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा सम्भावित व्यक्तिहरूबारे नेपाली कांग्रेसमा चर्चा सुरु भएको छ ।
संघीय निजामति विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था हेरफेरमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेपछि उनले राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएको पदमा नयाँ व्यक्ति पठाउने विषयमा कांग्रेसमा अनौपचारिक छलफल सुरु भएको छ । राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त हुने उक्त पदमा राज्य व्यवस्था समितिका कांग्रेस सांसदबाट नै सभापति बनाउने तयारी गरिएको छ ।
उक्त समितिमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू ईश्वरी न्यौपाने, रामहरि खतिवडा, दिलेन्द्र बडू, सरिता प्रसाईं हृदयराम थानी र अम्बिका बस्नेत सदस्य छन् ।
समिति सभापतिमा दोस्रो तहका कुनै एक नेता पठाउने तयारी कांग्रेसले गरेको छ । महामन्त्री शर्माको चर्चा चलेपछि उनले त्यसको खण्डन गरेका छन् । शर्माले The Wiribleसँग भने, ‘राज्य व्यवस्था समितिमाको सभापति को बनाउने कुरामा म लाग्ने हो । आफू बन्ने भन्ने कुरामा लाग्ने नै होइन । विश्वप्रकाश शर्माले इच्छा राखेको भए रामहरि खतिवडा बनेकै बेलामा बन्थ्यो नि त ।’
राज्य व्यवस्था समितिमा कांग्रेसका ९ सांसद छन् । शीर्ष तहका नेताहरूको रुचि नहुनु, खतिवडाले राजीनामा दिएका र ईश्वरी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति समेत रहेकाले बाँकी अन्य सांसदबाट सभापतिको खोजी गरिने भएको छ ।
संसदीय सुनुवाइ समितिका अर्को समितिको सदस्य समेत रहन सक्ने भएकाले न्यौपाने फरक समितिमा सभापति छन् ।
कांग्रेस नेताहरूका अनुसार बाँकी चार मध्येबाट एक जना सभापति बनाउने गरी अनौपचारिक छलफल भइरहेको छ । दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत मध्येबाट समिति सभापति हुने कांग्रेसका एक पदाधिकारीले जानकारी गराए ।












