टप एन्ड टी–२० सिरिजमा नेपालले आज नर्दन टेरिटोरीको सामना गर्दै -वाइरिबल

साउन ३०, २०८२
nepal s 1 by Ditible

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजअन्तर्गत स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकरको सामना गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो सवा दुई बजे डिएक्ससी एरेनामा सुरु हुने यो खेल नेपालको क्रिकेट इतिहासमै अस्ट्रेलियामा खेलिएको पहिलो प्रतिस्पर्धात्मक टी–२० सिरिज पनि हुनेछ । यो सिरिजलाई नेपालले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटको तयारीका रूपमा लिएको छ ।

आजको खेलमा डार्विनको मौसम र पिचले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बिहानको मधुरो घाम दिउँसो तीव्र हुँदा हावाले बललाई असमान बाउन्स प्रदान गर्न सक्छ । डिएक्ससी एरेना र टिआईओ स्टेडियमको पिचमा सिम मुभमेन्ट र बाउन्सका कारण ब्याट्सम्यानहरूलाई सुरुआती ओभरहरूमा चुनौती सामना गर्नुपर्ने हुन्छ । यस्तो परिस्थितिमा तीव्र गतिका बलरहरूका लागि अवसर पनि सिर्जना हुन सक्छ ।

नेपालको बलिङ आक्रमणमा सोमपाल कामी, करण केसी र गुल्सन झा जस्ता तीव्र गतिका बलरहरू छन्, जसले यस्तो पिचमा प्रभावकारी प्रदर्शन गर्न सक्छन् साथै, सन्दीप लामिछानेको स्पिनले मध्य ओभरमा विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्ने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेट टोलीका लागि यो अष्ट्रेलिया भ्रमण केवल जितको अवसर मात्र नभएर अनुभव, आत्मविश्वास र भविष्यको तयारीको महत्वपूर्ण अध्याय पनि हो । यो सिरिज अगस्ट २४ सम्म डार्विनमा आयोजना हुँदैछ, जसमा ११ टोलीको सहभागिता छ । नेपालसहित अन्तर्राष्ट्रिय टोलीहरूमा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । यस्तै, अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) का एकेडेमी टोलीहरू–होबार्ट हुरिकेन्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, पर्थ स्कोर्चर्स, र एडिलेड स्ट्राइकर–सहित स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकर र एक्ट कमेट्स पनि सहभागी छन् ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्दैछन्, जसमा उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई छ । टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, र साहब आलम छन् ।

Leave a Reply

Your email address will not be published.