अन्तर्राष्ट्रिय विज्ञको सहभागिता सहित मेलिसनको राष्ट्रिय फरेन्सिक सम्मेलन आयोजना हुँदै

साउन ३०, २०८२
national forensic sammelan by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

मेडिको–लिगल सोसाइटी अफ नेपालले भदौ १ र २ गते काठमाडौंमा ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्नेछ।
सम्मेलनमा भारत र श्रीलंकाका विज्ञसहित करिब १०० सहभागी हुनेछन् र उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्नेछन्।
अन्तर्राष्ट्रिय रेडक्रस समितिले दोस्रो दिन डिजास्टरमा मृत शरीर व्यवस्थापन विषयमा प्रशिक्षण दिनेछ र न्यायिक प्रमाण सुदृढीकरणमा छलफल हुनेछ।

३० साउन, काठमाडौं । नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आगामी आइतबार र सोमबार (भदौ १ र २ गते) काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा. सिर्जना कुँवरले जानकारी दिइन् ।

दुई दिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलंकाका विज्ञहरूको पनि सहभागिता रहनेछ । सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्नेछन् भने विशेष अतिथि नेपाल प्रहरीका आइजीपी दिपक थापा रहनेछन् ।

कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुतिहरू हुनेछन् । सहभागी विदेशी विज्ञहरूले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा. कुँवरले बताइन् ।

दोस्रो दिन अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्नेछ । यसमा बेवारिसे र बेपत्ता व्यक्तिहरूको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ ।

मेलिसनका करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.