पाल्पामा सहकारीको करिब ३ करोड रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ

साउन ३१, २०८२
bishnu bahadur by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

पाल्पामा लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेललाई दुई करोड ८७ लाख ५७ हजार रकम अपचलनको आरोपमा पक्राउ गरिएको छ।
सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिएको उजुरीका आधारमा बम्रेललाई साउन २६ गते आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख पवनकुमार भट्टराईले बताए।
पाल्पामा तीन महिना अघि फुलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबहादुर पन्थलाई ६० लाख बढी रकम अपचलनको आरोपमा पक्राउ गरिएको थियो।

३१ साउन, पाल्पा । पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् ।

रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् ।

बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए ।

सहकारी संस्थाको करिब दुई करोड ८७ लाख ५७ हजार ठगी आरोपमा व्यवस्थापक बम्रेललाई पक्राउ गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

सहकारी संस्थामा फर्जी कर्जादाता तयार गरी रकम अपचलन गरेको आरोपसहित सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको हो ।

२०८१ माघमा अध्यक्षमा निर्वाचित भएकी विकले रकम लगानीका विषयमा सोधपुध गरेपछि मात्र सहकारीका सञ्चालक समितिलाई थाहै नदिई रकम अपचलन गरेको थाहा पाएको बताइन् । सोही अनुसार रकम असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

यस सहकारी संस्थामा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका नागरिकहरुले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।

विभिन्न स्थानमा रहेको सेवा केन्द्रबाट सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएको थियो । करिब एक हजार बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैँकको सहुलियतको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको संस्थाका पदाधिकारीले बताएका छन् ।

सहकारी संस्थाको रकम अपचलन भएको हल्लाचलेपछि बचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई दवाव दिँदै आएका छन् ।

यस सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सहकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए ।

पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै तीन महिना अघि तिनाउ–६ को फुलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबहादुर पन्थ पनि पक्राउ परेका थिए ।

पक्राउ परेका पन्थले सहकारी संस्थाको ६० लाख बढी रकम अपचलन गरेको आरोप छ । सोही आरोपमा जिल्ला अदालत पाल्पाले उनलाई ५० लाख धरौटी माग गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि पूर्पक्षका लागि थुनामा रहेको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशवराज पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.