युक्रेनलाई हाम्रो समर्थन निरन्तर – Online Khabar

साउन ३१, २०८२
eu leader with ukraine president zelenesky by Ditible

Photo Credit : रोयटर्स

गत मार्चमा लण्डनमा भेला भएका इयु नेताहरूसँग युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की।

News Summary

Generated by OK AI. Editorially reviewed.

युरोपेली संघले युक्रेनलाई समर्थन गर्दै रूसले नेटो र ईयू प्रवेशमा भिटो प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ।
अलास्कामा अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनको वार्तापछि युरोपेली नेताहरूले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित राख्न जोड दिएका छन्।
युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर सहयोग गर्ने र रूसमाथि प्रतिबन्ध कडा पार्ने प्रतिबद्धता जनाएका छन्।

३१ साउन, काठमाडौं । युरोपेली संघ (ईयू)ले युक्रेनलाई समर्थन गर्ने प्रष्ट पारेको छ । अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको शिखर वार्तामा युद्धविराममा सहमति नजुटेपछि ईयूका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनलाई समर्थन गर्ने प्रष्टाएका हुन् ।

साथै उनीहरूले ईयू र नेटो सैन्य गठबन्धनमा युक्रेन आवद्ध हुने कि नहुने भन्नेबारे रूसले भिटो प्रयोग गर्न नपाउने बताएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ ,‘युक्रेनका सशस्त्र बल वा तेस्रो मुलुकसँगको सहकार्यमा कुनै प्रतिबन्ध हुनुहुन्न ।’

ईयू वा नेटो प्रवेशमा रूसले भिटो राख्न पाउने छैन । युक्रेनले आफ्नो भूभागबारेका निर्णय आफैं लिनुपर्छ । अन्तर्राष्ट्रिय सीमारेखा बल प्रयोग गरेर परिवर्तन गर्न पाइँदैन ।’

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रिड्रिख मर्ज, बेलायती प्रधानमन्त्री कीयर स्टार्मर, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क, युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्ता र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाएनले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनको हितको पक्ष लिँदै ऐक्यबद्धता प्रकट गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले युक्रेनमा हिंसा रोक्ने, रूसको आक्रमण समाप्त गर्ने र न्यायपूर्ण तथा दीर्घकालीन शान्ति कायम गर्ने प्रयासलाई नेताहरूले स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले भनेजस्तै– सम्झौता नभएसम्म कुनै सम्झौता छैन ।’

युरोपेली नेताहरूले अर्को चरणको वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई समेत सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

पुटिनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार जेलेन्स्कीलाई वाशिंटन बोलाएका छन् । ट्रम्प–जेलेन्स्की भेटपछि इयुको समर्थनसहित दोस्रो चरणको त्रिपक्षीय शिखर सम्मेलन गर्न आफूहरू तयार रहेको युरोपेली नेताहरूको भनाइ छ ।

युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित राख्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेको विज्ञप्तिमा जोड दिइएको छ ।

‘अमेरिकाले यस्तो ग्यारेन्टी दिन तयार रहेको ट्रम्पको भनाइलाई हामी स्वागत गर्छौं’, इयु नेताहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेटोमा आवद्ध गठबन्धन मुलुकहरू सक्रिय भूमिकामा रहन तयार छ ।’

युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । “हामी लडाइँ अन्त्य गर्न र न्यायपूर्ण शान्ति कायम गर्न युक्रेनलाई अझ बलियो बनाउन दृढ छौँ । युक्रेनमा हत्या हिंसा जारी रहेसम्म रूसमाथि दबाब कायम राख्छौँ । रूसको युद्ध अर्थतन्त्रलाई दबाबमा राख्न प्रतिबन्ध र आर्थिक नीतिहरू अझ कडा पारिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

साथै युरोपेली समर्थनमा युक्रेनले भरोसा गर्न सक्ने भन्दै इयुका नेताहरूले ढाडस दिएका छन् । ‘युक्रेनले हाम्रो दृढ ऐक्यबद्धतामा भरोसा गर्न सक्छ। हामी युक्रेन र युरोपको सुरक्षा हितार्थ शान्तिको मार्ग खोज्दै अघि बढ्नेछौँ ।’

Leave a Reply

Your email address will not be published.