सरकारले शून्य अंक दिएपनि नेपालीले विश्वास गर्छन् : कुलमान – Online Khabar

साउन ३१, २०८२
kulman ghising at london by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई कार्यसम्पादन मुल्याकंनमा शून्य अंक दिएको भन्दै दु:ख व्यक्त गरे।
घिसिङले आफ्नो ८ वर्षे नेतृत्वकालमा विद्युत प्राधिकरणले करिब ९० अर्ब रुपैयाँ नाफा कमाएको र ४ हजार मेगावाट उत्पादन भएको बताए।
एनआरएनए यूकेले आयोजना गरेको कार्यक्रममा घिसिङलाई सम्मान गर्दै बेलायतस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धान्जली अर्पण गरिएको थियो।

लण्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई कार्यसम्पादन मुल्याकंनमा शून्य अंक दिए देश-विदेशमा रहेका नेपालीहरूबाट विश्वास प्राप्त भएको बताएका छन् ।

बेलायत भ्रमणमा रहेका घिसिङले राज्यले आफूलाई अपमान गरेको भन्दै दु:ख व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले उनको सम्मानमा शुक्रबार आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ मा उनले भने, ‘सरकारले कार्यसम्पादनमूल्यांकनमा  शून्य दिएपनि वा कारबाही गरेपनि ४ महिनायता देश विदेशका नेपालीहरूबाट प्राप्त अथाह माया, सद्भाव र विश्वास नै मेरा लागि ठूलो हो ।’

विद्युत क्षेत्रमा आफ्नो ३० वर्ष र कार्यकारी भूमिका झण्डै १२ वर्ष अनुभव रहेको बताउँदै घिसिङले बेलायतकै सहयोगमा सन् १९११ मा बनेको फर्पिङ हाइड्रोपावर नै नेपालको पहिलो भएको स्मरण गरे ।

प्राधिकरणमा आफ्नो ८ वर्ष नेतृत्वकालमा शतप्रतिशत जनतामा बिजुली पुगेको दाबी गर्दै घिसिङले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधीन अवस्थामा रहेको बताए ।

निजी क्षेत्र खुल्ला गरिएपछि ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको उनको भनाइ छ ।

अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको बताए । गत वर्ष १७ अर्ब निर्यात हुँदा आयात १२ अर्ब रुपैयाँ मात्र भएको उनको भनाइ छ ।

३० वर्षसम्म घाटामा रहेको विद्युत प्राधिकरणलाई आफ्नो ८ वर्षे कार्यकालमा करिब ९० अर्ब रुपैयाँ नाफा कमाएको उनको दाबी छ ।

‘नेपालमा वर्षेनी १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ, त्यसमध्ये करिब ७ खर्ब खाडी मुलुकबाट आउँछ, तर, पनि राज्यले हामीहरूलाई अपमान गर्छ’, उनले भने ।

बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले अभियान थालेको उनले बताए ।

नेपाली समुदायले निकाले पञ्चेबाजासहितको र्‍याली

शुक्रबार भिजे डे अर्थात जापानमाथि विजय दिवस परेको दिन । प्रत्येक वर्ष १५ अगस्टमा यो दिवस मनाइन्छ जुन दिन सन् १९४५ मा जापानले मित्र राष्ट्रहरूसमक्ष आत्मसमर्पण गरेर लगभग छ वर्षपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

दिवसको सन्दर्भमा घिसिङले बेलायत अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिक पुगेर श्रद्धान्जली अर्पण गर्दै रिथ चढाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहाँ पुगेका थिए ।

सालिकमा रिथ चढाएपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झण्डा बोकेका नेपालीहरू सहभागी र्‍यालीमा सहभागी भए ।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण कार्यक्रमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.