News Summary
Generated by OK AI. Editorially reviewed.
नेकपा एकीकृत समाजवादीको युवा संगठनमा अध्यक्ष माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्षबीच २४ घण्टे अल्टिमेटमसहित मतभेद उत्कर्षमा पुगेको छ।
असन्तुष्ट पक्षले संघको विधान उल्लङ्घन गरी जारी गरिएको सर्कुलर सच्याउन २४ घण्टाभित्र निर्णय लिन आग्रह गरेको छ।
युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले पुरानो कमिटी भंग गरी नयाँ आयोजक कमिटी गठन गरेका छन्।
३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा देखिएको मतभेद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष माधवकुमार नेपाल पक्षले जारी गरेको सर्कुलर फिर्ता लिँदै निर्णय सच्याउन असन्तुष्ट पक्षले २४ घण्टे अल्टिमेटम दिएको छ । गत २७ साउनमा युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले सर्कुलर मार्फत् महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका थिए ।
तर सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरूले कुनै छलफल र परामर्श बिना एक्लौटी ढंगले सर्कुलर जारी भएको भन्दै निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
‘पटकौंपटक खबरदारी गर्दा समेत संघको विधानको बलमिच्याइ गरी रहेकोले २४ घण्टाभित्र निर्णय नसच्याए, संघलाई गलत दिशाबाट जान रोक्न युवा संघ नेपालको विधान, पद्धति र प्रक्रिया पालना गर्दै नसच्याए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रुपान्तरणका लागि संगठनलाई व्यवस्थित गर्दै अगाडि बढाउने कुरा जानकारी गराउँदछौं’, असन्तुष्ट पक्षको बक्तव्यमा लेखिएको छ ।
अर्थात् फरक कमिटी बनाउने चेतावनी विज्ञप्तिमा उल्लेख छ । असन्तुष्ट पक्षको बक्तव्यमा गत १० माघ अघिकै हैसियतमा नेताहरूको पद उल्लेख गरिएको छ ।
त्यसबेला उपमहासचिव रहेका सन्जीप राई र निर्भिक खनाल, सचिवहरू बाबुराजा बोगटी, अनिल बोगटी, जितबहादुर हमाल, खड्का आचार्य र भेषराज शाहले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
तर १० माघमा जारी अपानि बमोजिम युवा संघका इन्चार्ज बनेका लक्ष्मण केसीले पुरानो कमिटी भंग गरी रोशन थापा संयोजक अनि सन्जीप राई र धर्म शाही सहसंयोजक रहनेगरी आयोजक कमिटी बनाएका छन् ।













