काठमाडाैं । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै २-१ को शृङ्खला जितेको छ।
केर्न्समा शनिबार दक्षिण अफ्रिकाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अन्तिम बलमा रोमाञ्चक जित हासिल गरेकाे हाे । एक समय १२२ रनमा ६ विकेट गुमाएर दबाबमा आएको अस्ट्रेलियाका लागि म्याक्सवेलले ३६ बलमा अविजित ६२ रनको शानदार इनिङ्स खेले।
खेलको १९औं ओभरमा दक्षिण अफ्रिकाका बलर कर्बिन बोसले लगातार दुई बलमा बेन द्वार्सुइस र नाथन एलिसलाई आउट गरेपछि खेल झन् रोमाञ्चक बनेको थियो।
अन्तिम ओभरमा अस्ट्रेलियालाई जितका लागि १० रन चाहिएको थियो। दक्षिण अफ्रिकाका बलर लुङ्गी एनगिडीको पहिलो चार बलमा ६ रन लिएका म्याक्सवेलले पाँचौ बललाई चौका प्रहार गर्दै अस्ट्रेलियालाई सनसनीपूर्ण जित दिलाए।
त्यसअघि अस्ट्रेलियाका कप्तान मिचेल मार्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएकाे दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामलाई जोस हेजलवुडले पहिलो ओभरमै एक रनमा आउट गरे।
लियाम-ड्रे प्रिटोरियसले २४ रन बनाएपछि नाथन एलिसको बलमा आउट भए। त्यसपछि, दोस्रो खेलमा १२५ रन बनाएका डेवाल्ड ब्रेभिस मैदानमा आए। उनले २२ बलमा अर्धशतक पूरा गरे र आरोन हार्डीको एकै ओभरमा चार छक्का प्रहार गरे।
यद्यपि, ब्रेभिस ५३ रनमा ब्याटिङ गरिरहेका बेला म्याक्सवेलले उत्कृष्ट डाइभिङ क्याच लिएर उनलाई आउट गरे। ट्रिस्टन स्टब्सले २५ र रस्सी भान डेर डुसेनले अविजित ३८ रन बनाए ।
शृङ्खलामा अस्ट्रेलियाले पहिलो खेल जितेको थियो तर दोस्रो खेलमा ५२ रनको हार बेहोरेको थियो। केर्न्समा भएको यो खेलमा जित हासिल गर्दै अस्ट्रेलियाले शृङ्खला कब्जा गर्यो। यी दुई टोलीबीचको तीन एकदिवसीय खेलको शृङ्खला मंगलबार केर्न्समै सुरु हुनेछ।













