कैलाली कारागारको जेलरमा ढुंगाना पठाइए – Online Khabar

भदौ १, २०८२
Kailali karagar 3 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कैलाली कारागारमा गत शुक्रबार राति कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा भरत चौधरीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।
कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर प्रकाश ढुंगानालाई कैलाली कारागारको जेलरका रूपमा पठाएको छ।
घटना पछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृह प्रशासनले मन्त्रालय तानेको छ र उनको ठाउँमा कृष्णप्रसाद लम्साल नियुक्त भएका छन्।

१ भदौ, धनगढी। कैलाली कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले नेपालगन्जका जेलर रहेका ढुंगानालाई कैलाली कारागार पठाएको हो।

गत शुक्रबार राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा पठाइएका जालन्धर भुसालको हप्ता दिनको काज सकिएर उनी विदा भएपछि ढुंगानालाई पठाइएको हो।

कैलाली कारागारका नायब सुब्बा ज्ञानेन्द्र ओझाले ढुंगाना शनिबार यहाँ आइपुगेको बताए। ‘ब्लक ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर गत शुक्रबार मध्यरातमा ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

सो क्रममा लागुऔषध मुद्दामा कैद सजाय बिताइरहेका धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भए । घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचाररत ४५ मध्ये ३४ जना डिस्चार्ज भएको कारागारका नायब सुब्बा ओझाले बताए। उनीहरू डिस्चार्ज भएपनि तत्काल कारागार फर्काउदा घटना दोहोरिनसक्ने भन्दै अस्पतालमै राखिएको छ ।

डिस्चार्ज भएका मध्ये चार जना कञ्चनपुर र एक जनाको नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।

कैलाली कारागारमा हिंसात्मक घटना हुनुका पछाडि जिल्लास्थित सुरक्षा निकायको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गम्भीर लापरवाही रहेको भन्दै गृह प्रशासनले मन्त्रालय तानेको छ ।

उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकार कृष्णप्रसाद लम्साल कैलाली आएका छन् ।

Leave a Reply

Your email address will not be published.