राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

भदौ १, २०८२
rastrapati and Indian secretary bikram mishree meeting by Ditible

१ भदौ, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उनले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।

‘नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको “छिमेक पहिलो नीति” को नेपाल सराहना गर्दछ’, राष्ट्रपति पौडेलले भने ।

यस्तै भारतीय विदेश सचिव मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको उनको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

साथै, विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ ।

मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् ।

Leave a Reply

Your email address will not be published.