१० करोडको चेक बाउन्समा पक्राउ परेका हुन् राजु गोर्खाली

भदौ १, २०८२
raju gorkhali by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

गुन्डा नाइके राजु गोर्खालीलाई १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई भद्रकालीस्थित हिरासतमा ल्याएको छ।
गोर्खालीले २०७९ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस पाएका थिए।

१ भदौ, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।

‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने ।

पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।

उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।

गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।

२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । उक्त हत्यामा अहिले पक्राउ परेका गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए । यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए ।

उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् । कहिले हातहतियारको कसुरमा र केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.