काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
डार्विनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३२ रनले स्तब्ध भएको हो । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमै समेटियो ।
नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । ४९ बल खेलेका उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको थियो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए ।













