काठमाडौं । ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स कलेजले ‘अल्फाबिटा इन्टर कलेज फुटसल टुर्नामेन्ट’को उपाधि जितेको छ ।
शैक्षिक परामर्शदाता अल्फाबिटाको आयोजना तथा अमेरिकाको वेबस्टर युनिभर्सिटी र अविला युनिभर्सिटीको सहकार्यमा पहिलोपटक भएको टुर्नामेन्टको फाइनलमा लिटल एञ्जल्सले ग्लोबल स्कूल अफ साइन्सलाई ९-३ गोलअन्तरले हराउँदै उपाधि चुमेको हो ।
बुधबार धुम्बाराहीस्थित सूर्य फुटसलमा भएको फाइनलमा ग्लोबलमाथि लिटल एन्जल्स हाबी भएको थियो । खेलको पहिलो हाफमै ६-२ गोलको अन्तरको अग्रता लिएको लिटल एन्जल्सले दोस्रो ३ गोल थप्दा ग्लोबलले एक गोल मात्रै फर्कायो ।
विजेता लिटल एन्जल्सले ट्रफीसहित ६० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता ग्लोबलले ३० हजारमै चित्त बुझाएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ भन्दा बढी कलेजहरुको सहभागिता रहेको थियो ।
यो टुर्नामेन्टको उद्देश्य शिक्षा मात्र होइन, खेलकुदमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिता गराएर प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु रहेको आयोजक अल्फाबिटाको भनाइ छ । अहिले १६ कलेज सहभागी भएपनि आयोजक टोलीको लक्ष्य आगामी वर्षमा यो संख्या बढाउँदै ३२, त्यसपछि ६४ टोली सम्म पु(याउने र यसलाई देशव्यापी प्रतियोगिता बनाउने रहेको छ ।













